Kakhara सबैको खबर सम्पूर्ण खबर
१२ बुँदामा जनार्दन शर्माले देखेका रुकुम पश्चिमका समस्या र हल गर्ने प्रतिबद्धता 

फागुन २१ गतेको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका रुकुम पश्चिम उम्मेदवार जनार्दन शर्माले कार्य योजना पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले रुकुम पश्चिमको आवश्यकतालाई पहिचान गर्दै जिल्लाका मुख्य १२ समस्या र उक्त समस्या हल गर्ने प्रतिबद्धता सहितको कार्य योजना पत्र सार्वजनिक गर्नुभएको हो । 

आफ्नो निर्वाचन क्षेत्रका जनता र समग्र मुलुकको समृद्धिका लागि नयाँ उत्साहका साथ अघि बढिरहेको बताउँदै उहाँले आफ्नो लक्ष्य हिजोका अनुभवहरूलाई समेट्दै भोलीको उन्नत नेपाल निर्माणमा योगदान पुर्‍याउनु नै रहेको स्पष्ट पार्नुभएको छ । 

उम्मेदवार शर्माले रुकुम पश्चिमको सर्वाङ्गीण रूपान्तरण र समृद्धिका लागि दृढ संकल्पित रहँदै यहाँका भौगोलिक चुनौती र पछिल्लो प्राकृतिक विपद्ले सिर्जना गरेका अवरोधहरूलाई चिर्दै एक समुन्नत जिल्ला निर्माण गर्ने साझा लक्ष्य अघि सार्नुभएको छ । 

कृषिमा आधुनिकीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सर्वसुलभ पहुँच तथा पूर्वाधार विकासका अधुरा परियोजनाहरूलाई पूर्णता दिँदै नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन महसुस गराउने गरी ठोस कार्य योजनाहरू कार्यान्वयन गर्ने समेत उहाँको प्रतिबद्धता छ । 

त्यस्तै वैचारिक स्पष्टता र साङ्गठनिक निष्ठालाई आत्मसात् गर्दै प्रगतिशील लोकतान्त्रिक मूल्य–मान्यताको जगमा उभिएर भ्रष्टाचारमुक्त, पारदर्शी र जनउत्तरदायी स्थानीय प्रशासनको प्रत्याभूति दिलाउन कुनै कसर बाँकी नराख्ने समेत उहाँले कार्य योजना पत्र मार्फत प्रतिबद्धता जनाउनुभएको छ । 

सबै प्रकारका सामाजिक कुप्रथा र विभेदको अन्त्य गर्दै न्यायपूर्ण समाज निर्माणका लागि युवा स्वरोजगार, महिला सशक्तीकरण र पछाडि पारिएका वर्गको हितलाई मेरो राजनीतिक यात्राको मुख्य प्राथमिकतामा राख्ने छु, कार्य योजना पत्रमा भनिएको छ । 

janardan-ghosana-patra--1770808332.jpg
रुकुम पश्चिमको विशिष्ट पहिचान र यहाँको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै पर्यटन र स्थानीय उद्यमशीलतामार्फत आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न हर सम्भव प्रयास गर्ने र आम जनसमुदायको भरोसा र विश्वासलाई ऊर्जाको रूपमा ग्रहण गरी एक समृद्ध, सुरक्षित र नमुना जिल्ला बनाउने यो पवित्र सङ्कल्पमा सदैव अविचलित रूपमा लागिरहने समेत शर्माको प्रतिबद्धता छ । 

उम्मेदवार शर्माले १२ बुँदामा जिल्लाका मुख्य चुनौती र ती चुनौतीलाई सामना गर्न १२ बुँदामै प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पहिलो समस्याका रूपमा कृषि तर्फ सिँचाइको अभाव, बजारको समस्या, कृषिमा आधुनिकीकरण र यान्त्रीकरण नहुनु, स्वास्थ्य तर्फ जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर र प्राविधिक कर्मचारीको अभाव लगायत राख्नुभएको छ । 

शिक्षा तर्फ भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माण हुन नसक्नु, सीपमूलक र प्राविधिक शिक्षामा जोड नहुनु, अझै धेरै बालबालिका विद्यालय रहनु, इन्टरनेट तथा कम्प्युटर ल्याबको व्यवस्था नहुनु, भौतिक पूर्वाधार तर्फ स्थानीय तथा अन्य सबै सडक बाह्रै महिना चल्न सक्ने नहुनु, निर्माणाधीन सडकको काम, कालोपत्रे तथा मर्मत समयमै नहुनु, आवश्यक सबै ठाउँमा पुल निर्माण नहुनुलाई समस्याका रूपमा उल्लेख गर्नुभएको छ । 

यसका साथै खानेपानी, ऊर्जा र विद्युत्, वन, वातावरण र विपत् व्यवस्थापन, अर्थतन्त्र र रोजगारी, पर्यटन, सूचना र सञ्चार, सुशासन र सेवा प्रवाह तथा सामाजिक क्षेत्र र समावेशीकरण अन्तर्गत पनि विभिन्न समस्याको पहिचान गर्नुभएको छ । सोही सबै समस्या हल गर्ने गरी उहाँले १२ बुँदामै प्रतिबद्धता जनाउनुभएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update