Kakhara सबैको खबर सम्पूर्ण खबर
भण्डारीको निधनप्रति तीन दिन शोक घोषणा, पार्टीले अरु केके गर्यो निर्णय
मृतक भण्डारी ।

नेपाली काँग्रेस रुकुम पश्चिमका अग्रज नेता तथा महासमिति सदस्य तिलकबहादुर भण्डारीको उपचारका क्रममा साउन १६ गते निधन भएपछि नेपाली काँग्रेस रुकुम पश्चिमले गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । 

जिल्ला कार्यसमितिद्वारा जारी शोक वक्तव्यमा २०२३ वैशाख २३ गते चौरजहारी नगरपालिका–१ मा जन्मिएका स्वर्गीय भण्डारी लोकतन्त्र, संविधान र नागरिक अधिकारको स्थापना तथा सुदृढीकरणका लागि निरन्तर सङ्घर्षरत, निष्ठावान् र समर्पित नेता रहेको उल्लेख गरिएको छ ।  

उहाँले पार्टीको वडा तहदेखि जिल्ला नेतृत्वसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै सङ्गठन निर्माण, लोकतान्त्रिक आन्दोलन र जन पक्षीय राजनीतिमा उल्लेखनीय योगदान पुर्‍याएको पनि शोक वक्तव्यमा उल्लेख गरिएको छ  ।

द्वन्द्व कालको कठिन परिस्थितिमा समेत व्यवसाय तथा निजी सम्पत्ति गुमाएर विस्थापित जीवन बिताउनुपरे पनि लोकतान्त्रिक मूल्य, मान्यता र राजनीतिक प्रतिबद्धताबाट कहिल्यै विचलित नभएको उल्लेख गर्दै उहाँको योगदान सधैँ स्मरणीय रहने  उल्लेख गरिएको छ । 

जिल्ला कार्यसमितिले स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिएको छ ।

जिल्ला कार्यसमितिका निर्णयहरू 
स्वर्गीय भण्डारीको सम्मानमा पार्टीले तीन दिनसम्म जिल्ला पार्टी कार्यालय बन्द रहने निर्णय  गरेको छ ।त्यस्तै सो अवधिभर पार्टी कार्यालयमा झन्डा आधा झुकाइने , जिल्ला पार्टी कार्यालय परिसरमा शोक पुस्तिका राखिने, १३ दिनसम्म जिल्ला कार्यसमिति तथा मातहतका सबै समिति र निकायबाट औपचारिक कार्यक्रम आयोजना नगर्ने पनि जिल्ला कार्यसमितिले निर्णय गरेको छ । 

त्यसै गरी १३औँ पुण्य तिथिका अवसरमा चौरजहारी–१ स्थित निवासमा श्रद्धाञ्जली सभा आयोजना गर्ने नेपाली काङ्ग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ  ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update