रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ को देउता खोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । वडा नम्बर ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै खलंगा तर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरकाे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले दुर्घटना भएको र उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको खबर आएको बताउनुभयो ।
प्रहरी घटनास्थलमा पुगेको र जिल्लाबाट आफू नेतृत्वको टोली समेत घटनास्थल तर्फ गइरहेको उहाँको भनाई छ । मृतकको सनाखत हुन सकेको छैन । त्यस्तै ४ जना गम्भीर घाइते रहेको डिएसपी पौडेलले जानकारी गराउनुभयो । जिपमा ११ जना सवार रहेको र बाँकी ५ जना पनि घाइते रहेको र अवस्था मध्यम रहेको उहाँको भनाई छ ।
सानीभेरी ६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार चालक र अर्की एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने सनाखत हुन बाँकी रहेको छ । उहाँका अनुसार जिपका साहु बलबहादुर पुन सहित ९ जना घाइते रहेका छन् ।





