जिल्ला यातायात व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लामा यातायात व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ । शुक्रवार बसेको समितिको बैठकले जिल्लामा यातायात व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको हो ।
बैठकले जिल्ला सदरमुकाम मुसिकोटमा अनावश्यक सवारी चाप तथा अव्यवस्थित पार्किङलाई रोक्न पार्किङ स्थल तोकेको छ । ठुला बसहरू मठ देखि सल्लेसम्म र जिप, ईभी माइक्रो लगायतका साना सवारी साधनहरू घ्यूखोला आसपासको फराकिलो क्षेत्रमा पार्किङ गर्ने गरी ठाउँ तोकिएको छ ।
मोटरसाईकलहरु बाल मन्दिर, जिल्ला सरकारी वकिल कार्यालयको गेट छेउ, सानीभेरी एफ.एम. कार्यालयको छेउको खाली भाग र शहिदगेट देखी पुष्पलाल चोकसम्म एकतर्फी पार्किङको व्यवस्था मिलाउने निर्णय भएको छ ।
सडक सुरक्षा तथा पैदल यात्रीको सुरक्षालाई ध्यानमा राखी मुसिकोटका विभिन्न स्थानमा जेब्रा क्रसिङ राख्ने समेत निर्णय भएको छ । तर यो कार्य भने सडक पिच भएपछि हुने छ ।
सडक निर्माण सम्पन्न भएपछि सडक डिभिजन कार्यालय, चौरजहारीले यातायात व्यवस्था सेवा कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा मुसिकोटका शेरिगाउँ स्कुल चोक, बागबजार, त्रिवेणी चोक, सहिद गेट, पातुखोलामा जेब्रा क्रसिङ निर्धारण गर्ने निर्णय भएको समितिले जनाएको छ ।
त्यस्तै बजार क्षेत्र तथा मुख्य सडकमा सडक सुरक्षा र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन शेरीगाउँ चोक, त्रिवेणी चोक र शहिदगेटमा हर्न निषेधको ट्राफिक चिन्ह राख्ने निर्णय भएको छ भने मठदेखि शेरीगाउँ चोकसम्म पार्किङ निषेध, पातुखोला, शहिदगेट, त्रिवेणी चोक, बागबजार र शेरीगाउँमा यात्रु चढाउने÷ओराल्ने स्थान सम्बन्धीको ट्राफिक चिन्ह राखिने छ ।
बैठकले सार्वजनिक सवारीको भाडा पुनरावलोकन गर्न अध्ययन गरी ३ महिनाभित्र सुझाव पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उप–समिति समेत गठन गरिएको छ ।
मुसिकोट बजार क्षेत्रको सुरक्षा, यातायात व्यवस्थापन तथा अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने गरी हाल सञ्चालनमा रहेका सिसी टिभि क्यामेराहरू यथाशीघ्र मर्मत गरी पुनः सञ्चालनमा ल्याउन मुसिकोट नगरपालिकालाई अनुरोध पनि बैठकले निर्णय गरेको छ ।
यसका साथै सम्बन्धित स्थानीय तहभित्र सञ्चालनको लागि अनुमति लिएका तीन पाङ्ग्रे सवारी साधन (अटो रिक्सा) लाई सोही पालिका क्षेत्रभित्र मात्रै सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने र अनुमति नलिइएका क्षेत्रमा सञ्चालन भएको पाइएमा कानुन बमोजिम कारबाही गर्ने निर्णय भएको छ ।
यातायात व्यवसायीहरूले सम्पूर्ण सवारी चालक तथा सह–चालकहरूको लागि फ्लोरेसेन्ट ज्याकेटको व्यवस्था १५ दिन भित्र अनिवार्य गर्ने, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ट नागरिकहरूलाई सार्वजनिक सवारी साधनमा तोकिएको भाडा दर छुट र प्राथमिकता प्राप्त सिटको सुविधा उपलब्ध गराए÷नगराएको सम्बन्धमा जिल्ला ट्राफिक कार्यालयले नियमित अनुगमन गर्ने पनि निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको अध्यक्षतामा बसेको बैठकमा जिल्लास्थित सुरक्षा निकाय, यातायात व्यवसायी तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
यस्ता छन् निर्णय
-1789211698.jpeg)
-1789211696.jpeg)
-1789211696.jpeg)





