रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा आजदेखि अनिश्चितकालका लागि विद्यालयको पठनपाठन बन्द गर्ने घोषणा गरिएको छ । विद्यालय कर्मचारी तथा बालविकास शिक्षकको पारिश्रमिकसम्बन्धी माग सम्बोधन नभएपछि विद्यालय कर्मचारी तथा बालविकास शिक्षक संघर्ष समितिले आजदेखि अनिश्चितकालका लागि विद्यालयको पठनपाठन बन्द गर्ने घोषणा गरेको हो । संघर्ष समितिले आज जारी जारी गरेको पत्रमा गाउँपालिकाले दिँदै आएको सम्पूरक अनुदान कटौती गरेको विषयलाई लिएर आन्दोलनमा जान बाध्य भएको जनाएको छ।
संघर्ष समितिका संयोजक कृपाराम पुनका अनुसार आजदेखी विद्यालय बन्द गर्ने निर्णय भएको भन्दै सहयोगका लागि सबै विद्यालयलाई अनुरोध गरेको छ । त्यस्तै त्रिवेणी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पनि आजै प्रेस विज्ञप्तिमा जारी गर्दै आर्थिक वर्ष २०८३/०८४ को साउन महिनादेखि बालविकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगीहरूको थप पारिश्रमिकको मागसम्बन्धी विषयमा कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।
शाखाका प्रमुख मानबहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा विद्यालय बन्द हुने विषयमा जानकारी प्राप्त भएको भन्दै वार्ता तथा सम्वादको माध्यमबाट समस्या समाधान गर्न र विद्यालयको पठनपाठन बन्द नगर्न सम्बन्धित सरोकारवालालाई अनुरोध गरिएको छ । गाउँपालिकाले समस्या समाधानका लागि वार्ता र सम्वादमार्फत पहल गर्न आग्रह गरेको छ । यद्यपि, संघर्ष समितिले भने आफ्ना माग पूरा नभएसम्म विद्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ।





