Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा मासु पसल अनुगमन, सरसफाइ र मूल्यसूचीमा ध्यान दिन निर्देशन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलंगा तथा बागबजार क्षेत्रमा सञ्चालित मासु पसलहरूको अनुगमन गरिएको छ । आज पशु अस्पताल तथा पशु सेवा कार्यालयको नेतृत्वमा विभिन्न ८ वटा मासु पसलको अनुगमन गरिएको हो ।  अनुगमनका क्रममा मासु पसलको सरसफाइ, मूल्यसूची, फोहोर व्यवस्थापन तथा मासु काट्ने सामग्रीको अवस्थाबारे निरीक्षण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख अभिनव जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा केही पसलमा मूल्यसूची नराखिएको, सरसफाइमा पर्याप्त ध्यान नदिइएको तथा मासु काट्ने र राख्ने सामग्रीको व्यवस्थापन नभएको पाइएको छ । ती व्यवसायीहरूलाई पसलको सरसफाइमा ध्यान दिन, मासुको मूल्यसूची राख्न तथा मासु काट्ने र भण्डारण गर्ने सामग्री सफा राख्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा देखिएका कमीकमजोरी सुधार गर्न मासु पसलहरुलाई ७ दिनदेखि १५ दिनसम्मको समय समेत दिइएको छ । तोकिएको सयय अवधि भित्र मासु पसलहरु सुधार नभए अर्को पटक अनुगमन गर्दा ती पसलहरुलाई जरिवाना तथा बन्द गरिने अनुगमन समितिले चेतावनी समेत दिएको छ ।

f529063e-6da6-4be5-bb89-2c9f7eb92353-1789454979.jpeg

मासु पसल सञ्चालन गर्दा सरसफाइ, स्वच्छता र उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै  तोकिएका मापदण्ड पालना गर्न प्रमुख जिसीले व्यवसायिलाई निर्देशन दिनुभएको छ ।  बजार अनुगमन पशु अस्पताल तथा पशु सेवा कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र नेपाल प्रहरीसहितको  सहभागिता रहेकाे थियाे । अनुगमनलाई निरन्तरता दिने पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । 

e585e605-924c-41f9-85b2-59b0df8a1975-1789454959.jpeg

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update