रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा कार्यरत विद्यालय सहायक, विद्यालय सहयोगी कर्मचारी तथा प्रारम्भिक बालविकास शिक्षकको पारिश्रमिकसम्बन्धी विवादमा गाउँपालिका र संघर्ष समितिबीच तीनबुँदे सहमति भएको छ । बिहिवार पालिका र संघर्ष समितिविच तीनबुँदे सहमति भएको हो । गाउँपालिका र विद्यालय कर्मचारी तथा बालविकास शिक्षक संघर्ष समितिबीच भएको सहमतिपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने निर्णय भएको हो । गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसी र संघर्ष समिति संयोजक कृपाराम पुनले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सहमति अनुसार त्रिवेणी गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत संघीय अनुदानअन्तर्गतका विद्यालय सहायक, विद्यालय सहयोगी कर्मचारी तथा प्रारम्भिक बालविकास शिक्षकलाई गाउँपालिकाले यसअघि उपलब्ध गराउँदै आएको पारिश्रमिक रकम संघीय शिक्षा ऐनमा अन्य व्यवस्था नभएसम्म निरन्तरता दिने उल्लेख छ।
त्यस्तै संघीय अनुदान प्राप्त गर्ने बालविकास शिक्षकले विद्यालयमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म काम गर्नुपर्ने सहमति भएको छ । संघर्ष समितिले गर्दै आएको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिई आजदेखी विद्यालयमा उपस्थित भई नियमित कामकाजमा फर्किने सहमति भएको छ । यसअघि संघीय अनुदानअन्तर्गतका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा गाउँपालिकाले थप गर्नुपर्ने रकम समायोजनप्रति असन्तुष्टि जनाउँदै संघर्ष समितिले आन्दोलन गर्दै आएको थियो





