संविधान तथा राष्ट्रिय दिवसको अवसरमा रुकुम पश्चिममा विविध कार्यक्रम सम्पन्न भएका छन् । जिल्लामा आज र भोली २ दिन विविध कार्यक्रम गरी संविधान तथा राष्ट्रिय दिवस मनाउने निर्णय भए अनुसार आज जिल्लामा सरसफाइ, वृक्षारोपण, शैक्षिक सामग्री वितरण, फलफूल वितरण लगायतका कार्यक्रम भएका छन् ।
बिहान मुसिकोट खलंगा बजारमा सरसफाइ गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत जिल्लास्थित सरोकारवाला निकायको उपस्थितिमा सरसफाइ गरिएको हो ।
बजार क्षेत्रमा रहेका फोहोर व्यवस्थापन गरिएको थियो । दिवसको अवसरमा सरस्वती मावि सल्लेमा अध्ययनरत विशेष क्षमताका बालबालिका र रातो राता बोर्डिङका विद्यार्थीहरूका लागि २० हजार बराबरका विभिन्न खेलकुदका सामग्री वितरण गरिएको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो ।

रुकुमेली समाज विकास केन्द्रको १० हजार र राप्ती अपसेट प्रेसका सञ्चालक डम्बर खड्काको १० हजार सहयोग गरी २० हजार बराबरका खेलकुद सामग्री सहयोग गरिएको र यस कार्यक्रमको आयोजना रुकुम उद्योग वाणिज्य संघले गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
दिवसकै अवसरमा जिल्ला अस्पताल सल्लेको परिषरमा वृक्षारोपण र अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल समेत गरिएको छ । अस्पताल परिषरमा विभिन्न प्रजातिका २५ वटा बिरुवा रोपिएको बताइएको छ । त्यस्तै अस्पतालमा उपचाररत बिरामीहरूलाई विभिन्न प्रकारका फलफूल वितरण गरिएको अस्पतालले जनाएको छ ।

दिवसको अवसरमा जिल्लास्थित कार्यालय परिषरमा सरसफाइ समेत गरिएको छ । अहिले बेलुका दीप प्रज्वलन समेत गरिएको छ । दिवसको मुख्य दिन भोली मुसिकोट खलंगामा बिहान ७ बजे प्रभातफेरिको आयोजना गरिएको छ भने ८ बजे बाल मन्दिरमा दिवस विशेष औपचारिक कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो ।





