Kakhara सबैको खबर सम्पूर्ण खबर
जिप दुर्घटना अपडेट : मृतक, घाइते सबैको पहिचान खुल्यो

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ देउता खोलामा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आज बिहान वडाको कोटगाउँबाट सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्ली बजार तर्फ आइरहेको लु १ च ६०२९ नम्बरको डबल क्याप बोलेरो सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटनामा परेको हो । 

उक्त दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका १ रुँघा, रुकुम पश्चिमका २८ वर्षीय सुन्दर खड्का र सानीभेरी गाउँपालिका ६ कोटगाउँकी अन्दाजी १७ बर्सिया प्रेमकला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । गम्भीर अवस्थामा उनीहरूलाई जिल्ला अस्पताल सल्ले ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयो । 

जिपमा कुल १४ जना सवार रहेकामा १२ जना घाइते रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार ४ जनाको अवस्था भने गम्भीर रहेको छ भने उनीहरूलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ । गम्भीर घाइते हुनेमा सवारी धनी सानीभेरी ६ का ३८ वर्षीय बलबहादुर पुन, ५० बर्सिया कौशिला पुन, १५ बर्सिया खिमला पुन र १५ वर्षीय पूर्णबहादुर जैसी रहेको उहाँको भनाई छ । 

गम्भीर घाइतेको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा सानीभेरी ६ कै २० बर्सिया अञ्जना कुसारी, ५० बर्सिया बिर्मी खत्री, १५ बर्सिया विविशा पुन मगर, १५ वर्षीय विशाल विक, ९ वर्षीय शिशिर पुन मगर, १० वर्षीय रमेश कुसारी, २० बर्सिया रिता पुन मगर र जाजरकोटको शिवालय गाउँपालिकाकी १७ बर्सिया ज्ञानु पुन मगर पनि घाइते भएको प्रहरी निरीक्षक गिरीले जानकारी गराउनुभयो । 

उनीहरूमध्ये केहीको अवस्था मध्यम छ भने केहीको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । उनीहरु सबैकाे चाैरजहारी अस्पतालमा उपचार चलिरहेकाे छ । एक भने जना उपचारपछि डिस्चार्ज समेत भएको बताइएको छ । ओरालो अप्ठेरो बाटो, तीव्र गति र क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी गराउनुभयो । 

४ जना घाइतेको अवस्था गम्भीर भएपछि गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले नेपाली सेनाको हेलिकप्टर बोलाएर उद्धार गरेको हो ।

हेलिकप्टरको पैसा आफूले बेहोर्ने गरी गाउँपालिकाले हेलिकप्टर बोलाइदिन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । सोही अनुसार प्रशासनले हेलिकप्टर माग गरेको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update