Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका सबै विद्यालयमा स्थानीय पाठ्यपुस्तक अनिवार्य  

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यपुस्तक ‘मुसिकोट सेरोफेरो’ यस शैक्षिक सत्रबाट अनिवार्य विषयका रूपमा लागु गरेको छ । नगरभरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ देखि ८ सम्म ‘मुसिकोट सेरोफेरो’ अनिवार्य विषयका रूपमा लागु गरेको हो । 

यसअघि केही विद्यालयले स्थानीय पाठ्यपुस्तकको सट्टा कम्प्युटर लगायतका विषय पनि पढाउने गरेका थिए । यस यस शैक्षिक सत्र देखि भने १०० पूर्णाङ्कको स्थानीय पाठ्य पुस्तकलाई अनिवार्य विषयका रूपमा लागु गरिएको नगर शिक्षा अधिकृत नरेन्द्र ओलीले जानकारी गराउनुभयो । 

यस शैक्षिक सत्रका लागि नगरभरका लगभग सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको उहाँले बताउनुभयो । नगरभरका ६६ वटा सामुदायिक तथा संस्थागत गरी कक्षा १–८ मा ७ हजार ४ सय ३ जना विद्यार्थी भर्ना भएकामा उक्त सङ्ख्यामा नै पाठ्यपुस्तक छापेर विद्यालयमा पुर्‍याइएको उहाँको भनाई छ । 

विद्यार्थीले समेत पाठ्यपुस्तक प्राप्त गरी पठन पाठन समेत सुरु भइसकेको उहाँले बताउनुभयो । स्थानीय पाठ्यक्रममा आधारित एकीकृत पाठ्यसामग्री मुसिकोट सेरोफेरो निर्माण गरिएको उहाँले बताउनुभएको छ । उहाँका अनुसार कक्षा १–३ का लागि एउटा, कक्षा ४–५ का लागि एउटा र कक्षा ६–८ का लागि एउटा गरी ३ प्रकारका पुस्तक तयार गरिएको छ । 

कक्षा अनुसार छुट्टा छुट्टै विषयवस्तु समेटिएको बताइएको छ । पुस्तकमा विशेष गरी मुसिकोटको मौलिकतालाई जोड दिइएको छ । मुसिकोटको परिचय, स्थानीय पेसा व्यवसाय, पर्यटन विकास, नागरिक चेतना, वातावरण, व्यक्तित्व विकास, मौलिक प्रविधि, संस्कृति शीर्षकमा विभिन्न विषय समेटेर किताब तयार पारिएको छ । 

स्थानीय पाठ्यपुस्तकले विद्यार्थीहरूलाई सबैभन्दा ठुलो ज्ञान आफ्नो मौलिकताका विषयमा हुने नगरपालिकाको विश्वास छ । बालबालिकाहरूलाई स्थानीय भूगोल, संस्कृति, चाल चलन, रीति रिवाज, स्थानीय रोजगारी, पर्यटकीय स्थल लगायतका बारेमा जानकारी गराउने र नैतिकवान् बनाउने उद्देश्य रहेको नगरपालिकाले बताएको छ । 

स्थानीय विज्ञहरूको सहभागितामा स्थानीय पाठ्यक्रम तयार पारिएको र त्यसैका आधारमा किताब छापेर विद्यार्थीका हात हातमा पुर्‍याइएको नगरपालिकाको भनाई छ ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update