रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ का वडा अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश सदस्य केशरमान विकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कुटपिट गरिएको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिम जिल्ला समितिले हिरासतमा राखेर कुटपिट गरिएको भन्दै गम्भीर आपत्ती जनाएको छ । वडा अध्यक्ष विकलाई वडासँग सम्बन्धित विषयमा छलफल गर्नुपर्ने भन्दै बिहान ९ बजे जिल्ला प्रहरी कार्यालयमा बोलाइएको र कार्यालय परिसरमा पुगेलगत्तै विना पक्राउ पुर्जी हत्कडी लगाएर हिरासतमा राखी कुटपिट गरिएको आरोप लगाएको छ ।
पार्टीका जिल्ला संयोजक गोविन्द रोका र सह संयोजक सुरज परियाले जारी गरेको विज्ञप्ति अनुसार कुटपिटबाट वडा अध्यक्ष विकको टाउको, अनुहार र घाँटीमा चोट लागेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा समेत उहाँको शरीरका विभिन्न भागमा चोट देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जनताको सुरक्षा गर्ने जिम्मेवारी बोकेको प्रहरीबाटै जनप्रतिनिधिमाथि अमानवीय तथा गैरकानुनी व्यवहार भएको भन्दै पार्टीले घटनाको निन्दा गरेको छ । लोकतन्त्र, कानुनी शासन र मानव अधिकारको सम्मान गर्दै घटनाको तत्काल छानबिन हुनुपर्ने पार्टीको माग छ । पार्टीले वडा अध्यक्ष विकलाई तत्काल निःशर्त रिहा गर्न, निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र कुटपिटमा संलग्न प्रहरीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
विकमाथि झुटा मुद्दा लगाउने वा अन्य कुनै माध्यमबाट दुःख दिने प्रयास गरिए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत पार्टीले दिएको छ । त्यस्तो अवस्थाबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । घटना दोहोरिन नदिन राज्य गम्भीर बन्नुपर्ने भन्दै पार्टीले मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा बुद्धिजीवीलाई पीडितको पक्षमा न्यायको आवाज उठाउन आग्रह गरेको छ ।





