Kakhara सबैको खबर सम्पूर्ण खबर
काममा बाधा पुर्‍याएकाे भन्दै वडाध्यक्ष पक्राउ  

कुम पश्चिमको आठबिसकाेट नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक पक्राउ पर्नुभएको छ । प्रहरीले उहाँलाई मुसिकोट खल‌ंगाबाट पक्राउ गरेको हो । राष्ट्रसेवकलाई बाधा गर्न नहुने कसुरमा विकलाई सोमबार मुसिकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो । 

आठबिसकाेट नगरपालिका वडा नम्बर ३ का ३३ वर्षीय गोपाल विक भन्ने वीरेन्द्र विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दरखास्त परेको अवस्थामा निजलाई मुसिकोट खल‌ंगाबाट कार्यालयमा बोलाउन खोज्दा खोज्दा दाइ केशरमान विकले प्रहरी टोलीसँग वादविवाद गरी अश्लील शब्द प्रयोग गर्दै गाली गलाेज तथा धकेलपकेल गरेको र भाइ गोपाललाई भगाएको तथा ड्युटीमा खटिएको प्रहरी माथि हातपात गर्दै कपडा च्यातेकोले पक्राउ गरिएको प्रहरी निरीक्षक परियारले जानकारी गराउनुभयो । सोमबार नै जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिई घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

यसैबिच वडाध्यक्ष विकमाथि प्रहरी हिरासतमै प्रहरीले कुटपिट गरेको गम्भीर आरोप लागेको छ । नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले प्रहरी हिरासतमै वडाध्यक्षमाथि कुटपिट भएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाही र वडाध्यक्षलाई बिना शर्त रिहाइको माग गरेको छ । 

जिल्ला प्रहरी प्रमुख डिएसपी वेदबहादुर पौडेलले वडाध्यक्ष माथि कुटपिट नभएको दाबी गर्नुभयो । वडाध्यक्ष प्रहरी माथि नै जाइलागेपछि पक्राउ गरिएको उहाँ माथि कुटपिट नभएको उहाँले बताउनुभयो । मेडिकल गर्न लैजाने क्रममा हिरासत बाहिरकाे टेबलमा ठाेक्किएर सामान्य चाेट लागेकाे भएपनि कुटपिट भएकाे भन्ने आराेप गलत भएकाे उहाँकाे भनाई छ ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update