रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२, सिम्रुतुस्थित सिम्रुतु क्याम्पसको पाँचौँ क्याम्पस सभाबाट नयाँ क्याम्पस सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ । बिहीबार क्याम्पस सभाले ओमप्रकाश बोहरा क्षेत्रीलाई क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । त्यसै गरी रणबहादुर पुन उपाध्यक्षमा निर्विरोध चयन हुनुभएको छ ।
नवनिर्वाचित सञ्चालक समितिका सदस्यहरूमा गीता नेपाली, कर्णबहादुर खड्का, निर्मला विष्ट, लोकबहादुर बाँठा, लक्षण ओली र भीमदत्त बुढाथोकी चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष बोहरा क्षेत्रीसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएको क्याम्पस प्रमुख सूर्यविक्रम खड्काले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिम्रुतु क्याम्पस सामुदायिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । क्याम्पसमा शिक्षा सङ्कायअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको क्याम्पस प्रमुख खड्काले बताउनुभयो ।
नयाँ सञ्चालक समितिले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






