बाँफिकोट-१० मा स्वच्छ वडा कप सम्पन्न, आयोजक प्रथम

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-१० मा सञ्चालित चौथो स्वच्छ वडा कप-२०८३ भव्य रूपमा सम्पन्न भएको छ । गुप्ति दह खेलकुद विकास समितिको आयोजनामा कात्तिक १६ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक २० गते सम्पन्न भएको हो ।

प्रतियोगिता अन्तर्गत पुरुष भलिबलतर्फ आयोजक टिमले प्रथम स्थान हासिल गर्दै उपाधि जितेको छ भने बाँफिकोट गाउँपालिका-७ को टिम द्वितीय भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ८१ हजार १११ रुपैयाँ, द्वितीय हुने टिमले ६१ हजार १११ रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने दुई टिमले जनही २५ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

खेलकुदसँगै स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई समेत प्राथमिकता दिइएको प्रतियोगितामा मयूर नाच, पैसेरु नाच, आमा समूहलगायतका सांस्कृतिक प्रस्तुति राखिएको थियो । त्यस्तै, कलाकार तथा डान्सर आशा गिरीको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

गुप्ति दह खेलकुद विकास समितिका अध्यक्ष पवन शाहले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, जनप्रतिनिधि, अतिथि, खेलाडी, स्थानीयवासी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले प्रतियोगिता खेलकुद प्रतिस्पर्धामा मात्र सीमित नभई आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र स्थानीय कला तथा संस्कृतिको संरक्षण गर्ने साझा अभियान भएको बताउनुभयो ।

अध्यक्ष  शाहले आगामी दिनमा पनि सबैको साथ र सहयोगबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update