पाँचौँ ट्याखोला गोल्डकप, पुरुषमा मगर युनिटी र महिलामा आयोजक विजेता

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६, ४ र ११ को संगमस्थल ट्याखोला खेल मैदानमा सञ्चालित पाँचौँ ट्याखोला गोल्ड कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कार्तिक १५ गते सुरु भएको महिला पुरुष तर्फको प्रतिस्पर्धा शुक्रवार सम्पन्न भएको आयोजक ट्याखोला खेलकुद सङ्घले जनाएको छ । 

प्रतियोगिताको पुरुष तर्फ मगर युनिटी रुकुम पूर्व विजेता बनेको छ । शुक्रवार भएको फाइनलमा युनिक व्वाइज मुसिकोट रुकुम पश्चिमलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै मगर युनिटी विजेता बनेको हो । मगर युनिटी २–१ ले विजयी भएको आयोजक ट्याखोला खेलकुद सङ्घका अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो । 

विजेता मगर युनिटीले नगद ८० हजार र उप विजेता युनिक व्वाइजले ४० हजार पुरस्कार तथा ट्रफि प्राप्त गरेको उहाँले बताउनुभयो । पुरुष तर्फ ३२ टिमले प्रतिस्पर्धा गरेका थिए । 

महिला तर्फ भने आयोजक ए विजेता बनेको छ । शुक्रवार नै भएको फाइनलमा द राइजिङ वारियर्स मुसिकोट ४ सोलावाङलाई पराजित गर्दै आयोजक ए विजेता बनेको हो । यस खेलको निर्णय पनि पेनाल्टी सुट आउटबाटै भएको थियो । आयोजक ३–२ गोलले विजयी भएको बताइएको छ । 

महिला तर्फको विजेता आयोजक ए ले २० हजार र उप विजेता द राइजिङ वारियर्सले १० हजार नगद सहित ट्रफि प्राप्त गरेको आयोजकले जनाएको छ । एक कार्यक्रमका बिच विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरणका साथै प्रतियोगिताको समापन गरिएको छ । 

आयोजक संस्थाका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा जिल्ला फुटबल सङ्घ तदर्थ समितिका अध्यक्ष ध्रुव केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस मुसिकोटका सभापति डिल्लीरमण महत, मुसिकोट २ का वडा सचिव कमल पुन, फुटबल सङ्घका सदस्य खुमन बढा लगायतको आतिथ्यता रहेको थियो ।

महिला पुरुष फुटबलको विकासका लागि भन्दै ट्याखोला खेलकुद सङ्घले विगत ५ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update