Kakhara सबैको खबर सम्पूर्ण खबर
‘सुपर मार्केट’को झल्को दिने सहकारी बजार 
भूमे २ मा खावाङ बजारमा निर्माण गरिएको सहकारी बजारको भवन ।

ठुला सहरमा किनमेलका लागि सुपर मार्केट नौलो होईन । हेर्दै आकर्षक डिजाईन, सफा, चिटिक्क अनि सबै सामान एक ठाउँमा । शहरी क्षेत्रमा सुपर मार्केट किनमेलका लागि आकर्षक गन्तव्य बनेका छन् । गाउँमा पनि सुपर मार्केट सम्भव होला त ? सबै कुराले शहरमा खुलेका जत्रा ठुल ठुला सुपर मार्केट गाउँमा कल्पनाको विषय मात्र हो । तर सुपर मार्केटकै झल्को दिने गरी भने रुकुम पूर्वको भूमे गाउँपालिकामा सहकारी बजार संचालनमा आउन लागेको छ । 

विशेषगरी जिल्लामा उत्पादित अर्गानिक वस्तुको विक्रि वितरणका लागि मारिङ वहुउदेश्यिय सहकारी संस्थाले भूमे गाउँपालिकाको वडा नं. २ खावाङ बजारमा सहकारी बजार संचालन गरिरहेको छ । अव भने उक्त बजार सुविधा सम्पन्न र आकर्षक भवनमा संचालन हुन लागेको छ । १ करोडको लगानीमा भवन र सहकारी बजार संचालनका लागि सम्पूर्ण व्यवस्थानको काम लगभग सकिएको छ । 

लुम्बिनी प्रदेश सरकारको ५० लाख र सहकारीको ५० लाख लागतमा भवन, भित्रको डेकोरेशन, लेवलिङ, प्याकेजिङ मेशिन, सिसि क्यामेरा, होर्डिङ बोर्ड, बिलिङ कम्युटर लगायतको व्यवस्थापन गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयो । भवन निर्माण र अन्य डेकोरेसनको काम सकिएपछि ठेकेदारले आज उक्त भवन सहकारीलाई हस्तान्तरण समेत गरेको छ । अव सिसि क्यामेरा र कम्युटर जडानको काम मात्र बाँकी रहेको गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो । 

बिक्रि वितरणलाई पारदर्शि बनाउनका लागि कम्युटरमा सम्पूर्ण कारोवारको रेकर्ड राख्ने व्यवस्था गरिएको उहाँको भनाई छ । बाँकी व्यवस्थापनको काम गरेर साउन पहिलो साता देखि सुविधा सम्पन्न भवनबाट बजार संचालनको तयारी भइरहेको बताईएको छ । अवको एक दुई दिनमा पुरोना ठाउँमा रहेका सामान नयाँ ठाउँमा सार्ने र त्यसपछि लेवलिङ र प्याकेजिङको काम सुरु हुने छ । 

रहेक वस्तु लेवलिङ गरेर मात्र बिक्रि 
जिल्लामा पाईने सम्पूर्ण अर्गानिक वस्तुको विक्रि वितरणका लागि गाउँपालिकाको परिकल्पनामा सहकारी मार्फत सहकारी बजार संचालनमा छ । अहिले एउटा सानो घरबाट सामान्य प्लाष्टिकमा प्याकेजिङ गरेर विभिन्न कृषिजन्य वस्तुहरुको बिक्रि भइरहेको छ । तर अव भने हरेक सामानको लेवलिङ गरेर मात्र विक्रि गरिने छ । कुन वस्तुको गुण के हो ? भनेर मेशिन मार्फत लेवल मापन गर्ने र आधुनिक तरिकाले प्याकेजिङ गरेर मात्र बिक्रि गरिने सहकारीले जनाएको छ । बजारमा पाईने सबै वस्तुको सम्पूर्ण विवरण प्याकेटमा टाँसिने छ । सहकारी बजारबाट जिल्लाका सबै स्थानीय तहका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु बिक्रि हुने छन् । त्यस्तै जिल्लामा नपाईने वस्तु बाहिरबाट खरिद गरि ल्याएर बिक्रि वितरण पनि हुने गाउँपालिका अध्यक्ष बुढाले बताउनभुयो ।

प्रदेश सरकारले तीन जिल्लामा सहकारी बजार सञ्चालनका लागि आवेदन आह्वान गरेकामा रुकुम पूर्वबाट मारिङ वहुउदेश्यिय सहकारी संस्थाको मात्र आवेदन परेको थियो । रुकुम पूर्व प्रदेश सरकारले घोषणा गरेको अर्गानिक जिल्ला हो । यो बजारले जिल्लाका अर्गानिक कृषि उपजलाई बजारीकरणका लागि सहयोग गर्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update