Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका विपत् प्रभावितले पाँच वर्षपछि राहत पाउँदै, १८ लाख निकासा

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका २०७७ र २०७८ का विपत् प्रभावितले ५ वर्षपछि राहत पाउने भएका छन् । नगरपालिकाले ५ वर्ष अघिका विपत् प्रभावितका लागि रकम निकासा गरेको छ । आज नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा बसेको नगर विपत् व्यवस्थापन समितिको बैठकले २०७७ र २०७८ सालका विपत् प्रभावितका लागि राहत रकम निकासा गरेको हो । १७ परिवारका लागि १८ लाख रकम निकासा गर्ने निर्णय भएको छ ।

२०७७ र २०७८ सालको मनसुनजन्य तथा आगलागीजन्य विपत्का लाभग्राहीहरूको आवास बापतको रकम मनसुनजन्य विपत् प्रभावित निजी आवास पुन निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७ को दफा ५ को उपदफा ३ अनुसार र आगलागीजन्य विपत् प्रभावित निजी आवास पुन निर्माण तथा पुनस्र्थापना अनुदान वितरण कार्यविधि २०७८ बमोजिम प्रदेश सरकारले लागत बेहोर्ने प्रावधान अनुसार प्रदेश तर्फको ३० प्रतिशत रकम नगरपालिकाले लाभग्राहीको बैङ्क खातामा भुक्तानी दिने निर्णय गरेको हो । 

प्रदेश सरकारबाट रकम भुक्तानी दिनु भन्ने ब्यहोराको पत्र प्राप्त भएकोले रकम निकासा गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले गत भदौ १५ गते पहिरोले पुरिएर ज्यान गुमाएकी मुसिकोट नगरपालिका १ छिङकी हुकुमकुमारी मल्लको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

विपत् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड २०८१ को परिच्छेद २ दफा ५ उपदफा ९ बमोजिमको राहत रकम प्रदान गर्ने निर्णय नगर विपत् व्यवस्थापन समितिले गरेको हो ।।
 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update