
गत असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका ३ चाेरखाेलामा भएको गाडी दुर्घटनामा गम्भीर घाइते ठगेन्द्र केसीको पनि मृत्यु भएको छ । दुर्घटनामा घाइते रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ५ काडाँका ३७ वर्षीय केसीको आज बुधवार मध्यान्ह १२ बजेको समयमा मृत्यु भएको हो । केसीको बाँफिकोट गाउँपालिका ४ बालुवाचौरमा मृत्यु भएको हो ।
उहाँलाई उपचारका लागि भारतको लखनउ लगिएको भए पनि अस्पतालले अवस्था गम्भीर बन्दै गएपछि उपचार सम्भव नभएको भन्दै घर लैजान सुझाए अनुसार घर फिर्ता ल्याइएको थियो । तर घर नपुग्दै गाउँ नजिकै बाटोमै मृत्यु भएको स्थानीय गोपाल केसीले जानकारी दिनुभयो । दाङ, नेपालगन्ज हुँदै भारतको लखनउ लगिएका उहाँको त्यहाँ करिब करिब १ महिना उपचार गरिएको थियो । तर अवस्था अन्तिम बन्दै गएपछि उहाँलाई घर फिर्ता ल्याइँदै थियो ।
यो सँगै उक्त दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । ३ जनाको दुर्घटनाकै दिन घटनास्थलमै मृत्यु भएको थियो । जसमा ठगेन्द्रकी आमा पवि केसी सहित भाइ शशीधर केसी र बाँफिकोट ४ का प्रकाश केसी रहनुभएको थियो । दुर्घटनामा गम्भीर घाइते भई ठगेन्द्रसँगै उपचारका लागि लखनउ लगिएकी २७ बर्सिया बहिनी निशा केसीको गत असोज १६ गते उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा ज्यान गुमाउने ४ जना एकै परिवारका हुन् । यससँगै उक्त दुर्घटनामा सवार सबैको ज्यान गएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाबाट दाङ तर्फ गइरहेको लु २ ख ६५०२ नम्बरको हायस गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको थियाे ।