Kakhara सबैको खबर सम्पूर्ण खबर
जेन–जी समूहद्वारा त्रिवेणी गाउँपालिकाको ध्यानाकर्षण  

जेन–जी समूहले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । आज पालिकामा पुगेर पालिका अध्यक्ष गणेशकुमार केसी र प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै जेन–जी समूहले विभिन्न १७ वटा विषयमा पालिकाको ध्यानाकर्षण गराएको हो । 

पालिकाको भौतिक पूर्वाधार, शिक्षा, रोजगार र सुशासनका विषयमा ध्यानाकर्षण गराइएको जेन–जी समूहले जनाएको छ । उक्त समूहले विद्यालयहरूलाई धुलो रहित बनाउन र राजनीतिलाई निषेध तथा कुनै पनि दलका कार्यक्रम सञ्चालन गर्न नदिन र शिक्षक विद्यार्थीहरूलाई राजनीतिक विषयमा बोल्न प्रतिबन्ध लगाउन पालिकाको ध्यानाकर्षण गराएको हो ।  

राप्ती राजमार्गलाई खाडल मुक्त बनाउन कालोपत्रे गर्ने, बजारी क्षेत्रमा सडक पेटीको निर्माण र फोहोरको उचित व्यवस्थापन, गाउँपालिका भित्रका मुख्य सडकको नियमित सरसफाइ तथा मर्मत सम्भार गर्ने, पालिकामा भएका सहायक तथा प्रमुख सडकलाई डबल लेनको बनाई सडक नालीको निर्माणका लागि पहल गर्न तथा खोला तथा खोल्सामा पैदल यात्रुका लागि सुरक्षित पुल निर्माण गर्न माग गरिएको छ । 

खेल पूर्वाधार निर्माण र स्तरोन्नति साथै दवाङमा रहेको खेल मैदानको निर्माण सक्न, झुल्नेटामा सुरु गरिएको पार्क निर्माण छिटो सम्पन्न गर्न, शिक्षक बाहेकका करारमा कार्यरत कर्मचारीहरू खारेजी र स्थायी कर्मचारीको लागि मन्त्रालयमा माग फारम पठाउन, पालिका र पालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरू सबै एकै ठाउँबाट सञ्चालन गर्न र निर्माण भएका स्वास्थ्य चौकी भवन छिटो सञ्चालन गर्न तथा बाँकी रहेका ठाउँमा छिटो निर्माण गर्न पालिकाको ध्यानाकर्षण गराइएको छ । 

त्यस्तै कुन कुन ठाउँमा कति बजेट परेको छ भन्ने बारेमा जानकारी गराउन, बाँकी रहेका योजनाको ३ महिना भित्र ५० प्रतिशत कार्य पूरा गर्न, २०७४ देखि हालसम्मको बजेट र बजेट विनियोजन भएका स्थान तथा सो को पूर्ण जानकारी सार्वजनिक गर्न, गाउँपालिका भवन र वडा कार्यालय निर्माणमा खर्च भएको रकम सार्वजनिक गर्न र बजार व्यवस्थापन समिति बनाई खरिद वा सङ्कलन केन्द्रको स्थापना गर्ने तथा कुलिङ हाउसको उचित व्यवस्थापन गर्न पनि भनिएको हो । 

२०७४ साल देखि हालसम्म अनुदान कार्यक्रमको सम्पूर्ण विवरण सार्वजनिक गर्न र गुनासा आएका योजनाको छानबिन गरी कारबाही गर्न, जुनसुकै प्रकारको कार्यक्रम, विकास, बजेट विनियोजन र विकासका कार्यक्रममा संलग्न समितिहरूमा जेन–जी समूहको सहमति हुनुपर्ने तथा ३५ प्रतिशत जेन–जी सहभागिता हुनुपर्ने र केन्द्रीय लाइन नपुगेका ठाउँमा तुरुन्त विस्तार गर्न पनि जेन–जी समूहको माग छ । 

यी मागले पालिकाको दीर्घकालीन विकास, युवाको रोजगारी सिर्जना र विद्यार्थीको भविष्य सुधारका लागि अत्यावश्यक रहेको जेन–जी समूहले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । यसमा गाउँपालिका सरकारको ध्यानाकर्षण भई शीघ्र आवश्यक कदम चालिने विश्वास उक्त समूहले लिएको छ । साथै युवाको पक्षमा नीति निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा समेत जेन जी समूहले गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update