Kakhara सबैको खबर सम्पूर्ण खबर
बजारमै पार्किङले समस्या
छिप्रिदहमा भएकाे पार्किङले मुख्य बजारमा गरेका जाम ।

रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटकोटमा अस्तव्उस्त पार्किङले जोखिम बढाएको छ ।  कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रण नभए पनि निषेधाज्ञा खुकुलो भएसँगै अवस्था सामान्य बन्दै गएको छ । पछिल्ला केही दिनदेखी जिल्ला भित्र सवारी साधानहरु नियमित सञ्चालन भैरहेका छन् । यही समयमा सिस्ने गाउँपालिका–६, मा रहेको जिल्लाको मुख्य बजार क्षेत्र छिप्रिदहमा  अव्यवस्थित रुपमा गाडिहर पार्किङ गर्नाले जोखिम निम्त्याएको हो । 

यसरी सडकमा सवारी साधनहरु पार्किङ गर्नाले पैदल यात्रुहरुलाई  आवतजावतमा समस्या परिरहेको छ । बाटोमा पैदल हिड्नेहरुलाई समस्या एकातिर परेको छ भने व्यवसाय गर्नेहरुलाई पनि प्रत्यक्ष असर परिरहेको स्थानिय व्यवसायी  गोर्खबहादुर खड्काले बताउनुभयो । यसरी बर्षातको समयमा गाडिहरु बिच बजारमा पार्किङ गर्दा बजार क्षेत्रमा दुर्घटना हुने खतरा बढेको उहाँको भनाई छ । 

वडा नम्बर ६ काजिन्दामा सिस्ने गाउँपालिकाले बसपार्क निर्माण गरेर उद्घाटन गरेको समेत लामो समय वितिसकेको छ । उक्त बसपार्क प्रयोगमा ल्याउन गाउँपालिकाले पटक पटक आग्रह गरिरहेको छ । तर यातायात व्यवसायीहरुले भने व्यवास्ता गरेका छन । पूर्वी रुकुम यातायात प्रालीका काउन्टर इन्चार्ज सनम गौतमले जिल्लामा पूर्ण रुपमा यातायातका साधनहरु सञ्चालन हुने वित्तिकै बसपार्क सञ्चालनमा ल्याउने बताउनुभयो ।

यस विषयमा जिल्लामा सञ्चालित चार वटै यातायात व्यवसायी समितिहरुसँग छलफल भैरहेको उहाँले जानकारी दिनुभयो । जिल्ला भित्र र जिल्ला बाहिर जाने गाडीहरु छिप्रीदह बजारबाटै छुट्ने गरेका छन । जसले गर्दा बजारमा भिडभाड समेत बढेको छ । यस्तो समस्या हुँदा पनि सम्बन्धित निकायले नदेखे झै गरेर कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । निमित्त प्रमुख जिल्ला अधिकारी रविन्द्र बुढाक्षेत्रीले भने बसपार्क प्रयोगमा ल्याउन निर्देशन गरिएको बताउनुभयो । 

बसपार्कसम्म पुग्नका लागि सडक निर्माण गर्नुका साथै काउन्टर, सौचालय र खानेपानीको व्यवस्था समेत गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । बसपार्क सञ्चालनमा ल्याउनका लागि सहजिकरण गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई यस अघीनै पत्र लेखेर पठाएको उहाँले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update