रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोमबार दिउँसो करिब १२ बजे आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।दुर्घटनामा परी आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा र ८ वर्षीय युवराज थापाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको छ। त्यस्तै, २५ वर्षीया हिरा थापा, ८ वर्षीय गौरव थापा र ४ वर्षीया विरता थापाको अवस्था मध्यम रहेको छ। उनीहरूलाई उपचारका लागि नगर अस्पताल राडी पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तैगरी, २३ वर्षीया सुशिला थापा ऐरी, २८ वर्षीया भावना थापा ऐरी, २० वर्षीया रमिता ऐरी, १९ वर्षीया निर्मला ऐरी र २७ वर्षीया खिममाया थापाको अवस्था सामान्य रहेको छ। उनीहरूको पनि नगर अस्पताल राडीमा उपचार भइरहेको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चापागाईंको कमान्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। जिप चालक २५ वर्षीय प्रदीप विक रहेको प्रहरीले जनाएको छ।
सवार सबै आठविसकोट नगरपालिकाका हुन ।थापागाउँबाट नयाँगाउँडाँडातर्फ जाँदै गरेको भे १ ज ३११२ नम्बरको डबल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।







