संविधान दिवसको अवसरमा रुकुम पश्चिम कारागारबाट दुई कैदी रिहा भएका छन् । भुक्तान गर्न बाँकी रहेको सजाय राष्ट्रपतिले मिनाहा गरिदिएपछि बहुविवाह कसुरमा सजाय भोगिरहेका एक पुरुष र एक महिला रिहा भएका हुन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० का एक पुरुष र रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ की एक महिलाको बाँकी कैद सजाय कट्टी भएको जिल्ला कारागार रुकुम पश्चिमका जेलर पुनाराम पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाबाट मापदण्ड पुगेका २ जनाको कैद सजाय मिनाहाका लागि सिफारिस गरिएकामा दुवै जनाको सदर भएको हो । ५० प्रतिशत कैद सजाय भुक्तान गरेका, असल चालचलन भएका र मुद्दाको प्रकृति हेरेर कैद सजाय मिनाहाका लागि सिफारिस गर्ने मापदण्ड रहेको छ । सोही अनुसार संविधान दिवसका अवसरमा २ जना जेल मुक्त भएका हुन् । जिल्ला कारागारमा अव १ सय ४१ जना कैदीबन्दी रहेका छन् ।
रुकुम पूर्वका कैदीबन्दीहरु पनि रुकुम पश्चिमकै कारागारमा राख्ने गरिएको छ । जसका कारण हाल क्षमता भन्दा साढे ५ गुणा बढी कैदीबन्दी रहेका छन् । जिल्ला कारागारको क्षमता २५ जनाको मात्र हो ।