Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँ कार्यपालिकाको पहिलो बैठकः निःशुल्क एम्बुलेन्स सेवादेखि खरका छानामुक्त गाउँपालिका र वडा वडामा सुपथ मूल्य पसल सञ्चालनसम्मका निर्णय
सानीभेरी गाउँ कार्यपालिकाको बैठकमा सहभागिहरु ।

आकष्मिक दुर्घटना, गर्भवती, सुत्केरी तथा गरीबीको रेखामुनि रहेकाहरुले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले आकष्मिक दुर्घटनामा परी घाइते भएका, गर्भवती, सुत्केरी तथा गरिबीको रेखामुनि रहेका सबैलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । गाउँपालिकाबासीलाई सहज सेवा प्रवाह गर्नका लागि र केही राहत होस भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

बैठकले लक्षित समुदाय, गरीब, विपन्न बर्गको स्वास्थ्य बीमा गरिदिने निर्णय पनि गरेको अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो । हरेक वडामा सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालन गरी सुलभ दरमा दैनिक उपभोग्य सामग्री विक्री वितरण गर्ने, २ वर्ष भित्र गाउँपालिकाका सबै खरका छानामुक्त गरी जस्ता वा ढुङ्गाका छाना हाल्ने निर्णय पनि गरेको छ । ४० वर्ष माथि भएर पनि विवाह नगरेका महिलालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने, लक्षित बर्ग गरीब, विपन्नका छोराछोरीलाई छात्रवृत्तिमा पठन पाठनको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको अध्यक्ष विष्टले बताउनुभयो ।

विद्यालयको शिक्षा सुधार्न अनुगमन, मूल्याकन गरी प्रतिवेदन बुझाउन कार्यदल गठन गरिएको छ । शिक्षा संयोजक भूपालसिङ विष्टको संयोजकत्वमो समितिले १५ दिन भित्र प्रतिवेदन बुझाउने त्यसका आधारमा आवश्यक निर्णय गर्ने कार्यपालिको बैठकले निर्णय गरेको छ । बैठकले ६ नम्बर वडाध्यक्ष पहलसिङ घर्ती मगरलाई कार्यपालिका प्रवक्ता तोकेको छ ।

विभिन्न विषयगत समिति र त्यसका संयोजक पनि बैठकबाट तोएिको छ । लेखा समिति संयोजकमा टेकबहादुर पुन, विधायन समिति संयोजकमा कुलबहादुर बुढा, सुशासन समिति संयोजकमा जगदिश नकाल तोकिएका छन् । आर्थिक विकास समिति संयोजकमा भूपालसिङ ओली, सामाजिक विकास समिति संयोजकमा शेरबहादुर खड्का, पूर्वाधार विकास समिति संयोजकमा सेते कामी तोकिएका छन् ।

वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकमा पहलसिङ घर्ती, संस्थागत विकास तथा सुशासन समिति संयोजकमा टिकाराम खड्का तोकिएका छन् । राजश्व परामर्श समिति संयोजकमा उपाध्यक्ष कमला रोका, स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति संयोजकमा अध्यक्ष विर्खबहादुर विष्ट र न्यायिक समिति संयोजकमा उपाध्यक्ष कमला रोका तोकिएकी छिन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update