रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निःशुल्क आँखा अप्रेशन शिविर संचालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोग र एन.ए.बि.पि.आइ. केयर नर्वेको आर्थिक सहयोगमा चौरजहारी नगरपालिकाले शिविरको आयोजना गरेको हो ।
शिविरमा मोतिबिन्दुको अप्रेशनका साथै आँखा सम्बन्धी अन्य समस्याको उपचार गरिने बताइएको छ । शिविर ६ दिनसम्म नगरका फरक फरक ६ ठाउँमा संचालन हुने आयोजक चौरजहारी नगरपालिकाले जनाएको छ । शिविर असोज २२ देखि असोज २६ गतेसम्म संचालन हुने छ ।
असोज २२ गते १४ नम्बर वडा कार्यालय, २३ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नम्बर १२, असोज २४ गते सहिद स्मृति नगर अस्पताल वडा नम्बर १०, असोज २५ गते कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर ७ र असोज २६ गते सेवा केन्द्र वडा नम्बर २ मा शिविर संचालन हुने छ ।
उक्त शिविरबाट पहिचान भएका बिरामीको असोज २८ र २९ गते वडा नम्बर २ स्थित सेवा केन्द्रमा निःशुल्क अप्रेशन हुने चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । थप जानकारीका लागि आँखा उपचार केन्द्र सल्ले र नगर स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।





-1759842583.jpg)