Kakhara सबैको खबर सम्पूर्ण खबर
अपांग मानबहादुरको परिवारलाई अमेरिकाबाट सहयोग प्राप्त 

मुसीकोट नगरपालिका वडा नम्बर १ गुजेलढुंगाका मानबहादुर बिष्टको परिवारलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । नगद र खाद्यान्न गरी १५ हजार बराबरको सहयोग प्राप्त भएको हो । 

बोल्न नसक्ने र कान नसुन्ने समस्या रहेका मानबहादुर बिष्टको परिवारलाई मुसीकोट नगरपालिका वडा नम्बर १ सल्ले निवासी हाल अमेरिकाको टेक्सासमा रहनुभएका यामबहादुर बिसीले दशैं, तिहारलाई लक्षित गरी खाद्यान्न र नगद सहयोग गर्नुभएको हो । 

चाडपर्वमा सहज होस भनेर खाद्यान्न र नगद सहयोग गरेको बिसीले बताउनुभयो । चामल, दाल, तेल, आटा लगायतका खाद्यान्न सामग्री आज घरमै गएर हस्तान्तरण गरिएको हो । ७५ किलो चामल, ५ किलो दाल, ५ पोका नुन, १० बोतल तेल, ५ किलो आटा, एक कार्टुन साबुन र १ प्याकेट सरफ गरी १० हजार बराबरका सामान प्रदान गरिएको छ । 

त्यस्तै ५ हजार नगद समेत हस्तान्तरण गरिएको छ । स्थानीय घनश्याम बोहराले उक्त सामग्री र नगद हस्तान्तरण गर्नुभयो । मानबहादुर बोल्न र सुन्न सक्नुहुन्न भने उहाँकी श्रीमती पनि सोही खालको अपांग हुनुहुन्छ । उहाँका ६ महिनाका छोरा छन् । आफुसंग पढेको साथीलाई सकेको सहयोग गरेको बिसीले बताउनुभयो । 

अपांग र आर्थिक अवस्था कमजोर रहेको हुँदा दशैं, तिहार जस्ता चाड मनाउन सहज होस भनेर सकेको सहयोग गरेको उहाँको भनाई छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update