Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटमा आयोजित जिल्लाकै सर्वाधिक पुरस्कार राशिको खेलकुद सम्पन्न 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ मा  आयोजित खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । २८औं चौतारा मेलाको अवसरमा ९ नम्बर वडा कार्यालयले कात्तिक १४ गतेबाट आयोजना गरेको भलिबल आइतबार सम्पन्न भएको हो । १४ टिमले प्रतिस्पर्धा गरेको भलिबल प्रतियोगिता टिम सुजलले जितेको छ । आइतबार भएको फाइनलमा सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड आठबीसकोट नगरपालिकालाई ३–१ को सोझो सेटमा पराजित गर्दै टिम सुजलले उपाधि जितेको हो । 

प्रथम हुने टिमले नगद २ लाख २० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड आठबीसकोटले नगद एक लाख ५० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै सेमिफाईनलसम्म पुगेका रोयल राजा जाजरकोट र सानीभेरी गाउँपालिका रुकुम पश्चिमले समान नगद एक लाख रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

त्यस्तै ६ टिमको सहभागीता रहेको महिला भलिबल प्रतियोगिता तर्फ महिला स्पोर्ट एकेडेमी आठबीसकोट नगरपालिका प्रथम भएको छ । आइतबार नै भएको फाइनलमा भलिबल प्रशिक्षण केन्द्र रुकुम पश्चिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै महिला स्पोर्ट एकेडेमी आठबीसकोट प्रथम भएको हो । प्रथमले नगद १ लाख ३० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

उपविजेता भलिबल प्रशिक्षण केन्द्र रुकुम पश्चिमले ८० हजार रुपैयाँ को साथमा कप मेडल र प्रमाणपत्र हात पारेको ९ नम्बर वडा अध्यक्ष जनकबहादुर बटालाले जानकारी दिनुभयो । अध्यक्षका अनुसार सेमिफाइनलमा पुग्ने जिल्ला भलिबल संघ जाजरकोट र डि.डि ब्रदर आठबीसकोटले समान ५० हजार, मेडल र प्रमाणपत्र पाएका छन् । मेलाको अवसरमा लोक गीत प्रतियोगिता पनि संचालन गरिएको थियो । 

यो प्रतियोगिता जिल्लाको अहिलेसम्म कै सर्वाधिक पुरस्कारको राशिको हो ।।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update