Kakhara सबैको खबर सम्पूर्ण खबर
यसवर्षको डिग्रे मेलाको आम्दानी झण्डै १५ लाख
डिग्रे मेला ।

रुकुुम पश्चिमको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरले यो वर्षको मेलाबाट झण्डै १५ लाख रकम संकलन गरेको छ । ५ दिनसम्म सञ्चालन भएको डिग्रे मेलाबाट दर्शनार्थीले  मन्दिरमा चढाएको भेटी, होटल सञ्चालन, पिङ सञ्चालन र बलि चढाएको बोकाको टाउको बिक्रिबाट १४ लाख ७१ हजार ४ सय ५० रुपैंया रकम संकलन भएको हो । मेलाको क्रममा १ हजार ६१ बोकाको बलि चढेकामा उक्त टाउका बिक्रिबाट ६ लाख ६४ हजार ७ सय ८० रुपैंया संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार होटल स्टल बिक्रिबाट १ लाख ४१ हजार २ सय, पिङ सञ्चालनबाट २७ हजार रुपैंया संकलन भएको छ । हरिवोद्धनी एकादशी कार्तिक १८ गते देखि पूूर्णिमा कार्तिक २२ गतेसम्म मन्दिरमा पुजापाठ गर्न आएका दर्शनार्थीहरुले मन्दिरमा चढाएको भेटीबाट ६ लाख ३५ हजार ९ सय ७० रुपैँया संकलन भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसरी संकलन भएको केही रकम मेला व्यवस्थापनमा खर्च भएको  छ । बाँकी बचेको रकम मेलामा खटिएकका स्वयंमसेवक,  मन्दिर वरवरको सरसफाई, भौतिक संरचना निमार्ण लगायतका काम खर्च गर्ने गरिएको छ । 

मन्दिरमा पुजापाठ लगायतबाट संकलन भएको भेटी मेला व्यवस्थापन समिति र प्रहरीको रोहवरमा जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो । २ दिन लगाएर हिजो र आज भेटी र अन्य रकम गणना गरि सकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले बताउनुभयो । पहिलो पटक प्रहरी, प्रशासनको रोहबरमा मन्दिरको भेटी र मेलाबाट उठेको पैसा गणना गरिएको हो ।

५ दिनसम्म सञ्चानल भएको मेलामा रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, सल्यान, दाङ र बाँकेबाट लगायतका जिल्लाबाट डेढलाक दर्शनार्थीले मेला भर्नुका साथै मन्दिरको दर्शन र पुजाआजा गरेको मन्दिर व्यवस्थापन समितिको अनुमान छ । कार्तिक १८ गते सुरु भएको मेला कार्तिक २२ गते सकिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update