जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले तिहार, छठ तथा नेपाल संवत्का अवसरमा जुवातास, पटका र आतसबाजीलगायतका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा मनाउन जिल्लावासीलाई अनुरोध गरेको हो ।
प्रशासनले तिहारको समयमा देउसीभैलो, नाचगानलगायत सांस्कृतिक गतिविधि बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।त्यस्तै, कानुन विपरीत जुवातास तथा लङ्गुर बुर्जा खेल्ने र खेलाउने, भुइँचम्पा, पटका तथा आतसबाजीजस्ता विस्फोटक पदार्थको आयात, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न सूचनामार्फत सचेत गराइएको छ ।
मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, अखाद्य रङ मिसाइएका मिठाई र गुणस्तरहीन खाद्यवस्तुको बिक्री वितरण तथा उपभोग नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
यसै गरी, प्लास्टिकजन्य फूल मालालगायत कानुनले आयात तथा प्रयोग गर्न निषेध गरेका वस्तुहरूको प्रयोग र बिक्री वितरण नगर्न भनिएको छ । साथै, सूचनामा उल्लेखित विपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर ओलीद्वारा जारी सूचनामा चाडपर्वका अवसरमा शान्ति, सुरक्षा र अमन चयन कायम राख्न सबैलाई सहयोग गर्न अनुरोध गरिएको छ ।







