रुकुम पश्चिम । २०६१ सालमा एसएलसी परीक्षा दिएका त्रिभुवन जनता माध्यमिक विद्यालय खलङ्गाका पूर्वविद्यार्थीहरू २२ वर्षपछि पुनः एकै ठाउँमा भेला भएका छन् । शनिबार बैरीदह साखमा वनभोज तथा मित्र मिलन कार्यक्रम आयोजना गरी उनीहरूले पुराना सम्झना साटासाट गरेका हुन् । लामो समयपछि सहपाठीहरूसँग भेट हुँदा बाल्यकाल र विद्यालय जीवनका सम्झना ताजा भएको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा भेटघाट र मनोरञ्जनसँगै सामाजिक सेवामा जुट्ने संकल्पसमेत गरिएको छ । सहभागीहरूले साझा कोष स्थापना गरी नियमित रकम जम्मा गर्ने र प्रत्येक वर्ष सामाजिक तथा मानवीय सेवाका कार्यमा खर्च गर्ने निर्णय गरेका छन् । पुरानो मित्रतालाई निरन्तरता दिँदै आपसी एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अघि बढाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको भुपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।







