Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सबै पालिकामा विकासको प्राथमिकता निर्धारण गरिदै
कार्यक्रमका सहभागीहरू ।

रुकुम पश्चिमका सबै स्थानीय तहले विकासका प्राथमिकतालाई निर्धारण गर्दै छन् । तीन नगरपालिका र तीन गाउँपालिकाले पालिकामा आवश्यक योजना र विकासको प्राथमिकता निर्धारण गर्न लागेका हुन् । अहिलेसम्म पुरा भएका योजनाको समिक्षा सहित पालिकाहरुले आगामि विकासका योजनाहरुलाई प्राथमिकरण गर्न लागका हुन् । 

जसका लागि जिल्लाको त्रिवेणी गाउँपालिकामा आजदेखि आवधिक योजना निर्माण सम्बन्धी सुझाव संकलन तथा विकासका प्राथमिकता बारे अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभाहल खारनेटामा कार्यक्रम सुरु भएको हो । कार्यक्रम बिहिबार सम्म संचालन हुने छ । 

जसअन्तर्गत आज पहिलो दिन पालिकाका सबै १० वटै वडाहरुले वडाको समग्र अवस्थाको बारेमा प्रस्तुति राखेका छन् । भोली पालिकाको योजना र विकासको प्राथमिकता निर्धारण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । कार्यक्रम गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भइरहेको छ । 

जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, आठबीसकोट नगरपालिकाका पूर्व नगर प्रमुख गोरखबहादुर केसी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, त्रिवेणी गाउँपालिकाका पूर्व अध्यक्ष झक्कुप्रसाद घर्ती मगर लगायतको आतिथ्यता रहेको छ । 

कार्यक्रमको संचालन गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्रीले गरिरहुनभएको छ । यो कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा संचालन हुने छ । सानीभेरी गाउँपालिकामा माघ ६ र ७ गते बाफिकोट गाउँपालिकामा माघ ८ र ९ गते, चौरजहारी नगरपालिकामा माघ १० र ११ गते, मुसिकोट नगरपालिकामा माघ १२ र १३ गते तथा आठविसकोट नगरपालिकामा माघ १६ र १७ गते हुने छ ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update