Kakhara सबैको खबर सम्पूर्ण खबर
के निर्णय गर्यो सानीभेरी गाउँकार्यपालिकाको १३ औं बैठकले ?

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको १३ औं गाउँकार्यपालिकाको बैठक सम्पन्न भएको छ । कार्यपालिकाले गाउँपालिकाले गत फागुन १ गते जनयद्ध दिवसको अवसरमा आयोजना गरेको गुरिल्ला म्याराथनको समिक्षा र राष्ट्रिय स्तरमा पारेको प्रभाव सम्बन्धीको प्रतिवेदन पारित गर्ने निर्णय गरेको गाउँकार्यपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार पालिकाको आवधिक योजना निर्माण, भू–उपयोग कार्यविधिमा छलफल गरेर चरणबद्ध रुपमा अगाडि बढाउने, पालिका भित्र रहेका विद्यालयहरु आवश्यकताका आधारमा मर्ज गर्ने तथा शिक्षक दरबन्दी मिलान गर्ने कार्यविधि २०७९ अव नयाँ आर्थिक वर्षदेखि लागु हुने गरि पारित गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । 

त्यस्तै तत्काल लागि वडा नम्बर ९ लाई बालमैत्री वडा घोषणा गर्ने, बाँकी वडाहरुलाई आउँदो वर्षमा बालमैत्री शासन युक्त घोषणा गर्ने निर्यय भएको प्रवक्त घर्तीले बताउनुभयो । शिक्षा समितिको निर्णय अनुमोदन, सम्मान गर्न छुटेका जनयुद्ध तथा जनआन्दोलनका घाइते र अपागंहरुको नाम कर्णाली प्रदेश स्थित आर्थिक मामिला तथा योजना मन्त्रालयमा सिफारिस गरि पठाउने, डायलाइलिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई मासिक औषधी उपचार खर्च उपलब्ध गराउने पनि कार्यपालिकाले निर्णय गरेको छ ।

वडा नम्बर २ मा रहेको  भैंसी स्रोत केन्द्रका सामग्री सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थामा दुध संकलन गर्ने गरी वडा नम्बर ५, ६, १० र ११ मा हस्तान्तरण गर्ने, कृषि र पशु बीमा पारित गर्ने, उत्पादनमा उनुदान वितरण गर्ने कार्यविधि अन्तर्गत वडा नम्बर ३ र ९ मा पशु तथा वडा नम्बर १० र ११ मा कृषि सम्बन्धी अनुदान उपलब्ध गराउने, यसअघि निर्माण भएको गाउँपालिकाको लागो केही परिमार्जन गर्ने निर्णय समेत बैठकले गरेको प्रवक्ता घर्तीले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update