
उत्पीडनमा परेका समुदायका निम्ति लड्ने पार्टी माओवादी केन्द्र रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् रुकुमपूर्वका इञ्चार्ज तेजबहादुर ओलीले बताउनुभएको छ । मंगलबार सिस्ने गाउँपालिका-६ रुकुमकोटमा भएको माओवादी केन्द्रको जनवर्गीय संगठन नेपाल दलित मुक्ति मोर्चा सिस्ने गाउँ समितिको प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा इञ्चार्ज ओलीले यस्तो बताउनु भएको हो ।
उहाँले नेकपा माओवादीले उठाएका तथा स्थापित गरेको एजेन्डामै हाल देश चलिरहेको इञ्चार्ज ओलीको भनाई छ । ‘देशमा आमूल परिवर्तन हुनुको मुख्य भुमिका माओवादी पार्टी हो’ ओलीले भन्नुभयो -‘यद्यपी पछिल्लो चरणमा माओवादी टुटफुट हुँदै गयो र त्यसको फाइदा अन्य पार्टीले लिइराखेको अवस्था छ ।’
जनतामा भ्रम सिर्जना गरी अन्य पार्टीले अवसर लिइराखेको इञ्चार्ज ओलीले बताउनुभयो । ‘तर, जनताले चाहेको जस्तो विकासको गतिमा छैन किनभने जनताका एजेन्डा नेतृत्व गर्ने माओवादी पार्टी टुटफुटका कारणले कार्यन्वयन गर्ने ठाउँमा अवसरवादी पार्टीहरुको हातमा रहेकोले देशले निकास पाइरहेको छैन’ उहाँले भन्नुभयो -‘अब फेरी जनयुद्ध समयको जस्तै गरी बस्तीबस्तीबाट जुरमुराइ पार्टीलाई बलियो बनाउने र एजेन्डालाई कार्यन्वयन गर्ने ठाउँमा पार्टीलाई पुर्याउनु पर्छ, तब मात्र जनताका एजेन्डा पूरा हुँदै जाने छन् ।’
पछिल्लो चरणमा पार्टी भित्र अति अराजकवादी चिन्तन हाबी भइरहेको समेत ओलीले बताउनुभयो । अराजकवादी चिन्तन बोकेका नेतालाई कारबाही गर्नु पर्छ र हाल कारबाही बोकी रहेका नेताहरुले आफ्नो गल्तीको महसुश गरी पार्टीमा लिखित आलोचना सहित आएमा एकआपसका कमीकजोरीलाई बहस, छलफलबाट पार्टीलाई बलियो बनाउनका लागि एकताबद्ध भइ अघि बढ्ने इञ्चार्ज ओलीको धारणा राख्नुभयो ।
साथै अब पार्टीको आगामी अभिभारा आम जनताको जीवनस्तर सुधार गर्ने तर्फको नीति लिने उहाँले बताउनुभयो । उत्पीडनमा परेका वर्ग, समुदायकै अधुरो हक, हितको पक्षमा पार्टी लागि परिरहेको ओलीले बताउनुभयो । आधारभूत रुपमा माओवादी पार्टीको एजेन्डा कार्यन्वयन भइरहेकोले अधुरो एजेन्डालाई पूरा गर्नका लागि आआफ्नो ठाउँबाट आवाज उठाइ राख्नु पर्ने तथा पार्टी नेतृत्वलाई सुझाव दिइराख्नु पर्ने समेत ओलीले दलित मुक्ति मोर्चालाई आग्रह गर्नु भएको छ ।