Kakhara सबैको खबर सम्पूर्ण खबर
‘गैरकानुनी रुपमा प्रअबाट हटाइयो, आर्थिक प्रतिवेदनमा कुनै सत्यता छैन्’ (भिडिओ सहित)
पत्रकार सम्मेलनमा बाेल्दै निवर्तमान प्रअ हरिप्रसाद खनाल बायाँ ।

हरिप्रसाद खनालले गैरकानुनी रुपमा आफुलाई त्रिभुवन जनता माविको प्रध्यानाध्यापकबाट हटाइएको भन्दै आपत्ति जनाउनुभएको छ । आज मुसिकोट खलंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले गैरकानुनी रुपमा आफुलाई हटाई नयाँ निमित्त प्रअ तोकिएको भन्दै आपत्ति जनाउनुभएको हो । 

नियम, विधी, प्रक्रिया अनुसार प्रअको पदावधि सकिएपछि नयाँ प्रअ नियक्तिका लागि नीतिगत व्यवस्था अनुसार गर्नुपर्नेमा सो नगरी गैरकानुनी, गैर संवैधानिक तरिकाले विद्यालय व्यवस्थापन समिति बैठकको गणपुरक संख्या समेत नुपर्याई, सदस्य सचिव (प्रध्यानाध्यापक)को अनुपस्थितिमा निर्णय गरी आफुलाई प्रअबाट हटाइएको उहाँको भनाई छ । 
साथै उहाँले गैरकानुनी रुपमा मुसिकोट नगरपालिकाका नगर प्रमुखको निर्देशन र तोक आदेशमा निमित्त प्रअ तोकिएको बताउनुभयो । ‘३० वर्षे मेरो शिक्षण सेवालाई धुमिल पार्ने र विद्यालयको पठनपाठनमा नकारात्मक असर पर्ने गरी गरिएका यस्ता कार्यहरु कदापी क्षम्य हुने छैनन्, उहाँले भन्नुभयो–इमान्दारी पूर्वक आफ्नो काम कर्तव्यमा लागि रहने छु ।’ साथै उहाँले विद्यालयमा कुनैपनि अनियमित काम नगरेको बताउनुभएको छ । 

‘कुनै अनियमित काम गरेको छैन, गरिने पनि छैन, आर्थिक अनियमितताको आरोप झुटो हो जसको कानुनी वैधता छैन्, उहाँले अघि भन्नुभयो ।’ बदनियत पूर्ण र पूर्वाग्रही ढंगले विद्यालयको वास्तविक आम्दानी र खर्चभन्दा फरक खालको आर्थिक प्रतिवेदन तयार पारिएको भन्दै यसमा कुनै सत्यता नभएको उहाँको भनाई छ । 

‘आर्थिक प्रतिवेदनमा आम्दानी भनि कुल ८९ लाख ४८ हजार औंल्याइएको छ, हुनुपर्ने ८१ लाख १४ हजार ४ सय र उठेको रकम ६२ लाख ८२ हजार ६ सय मात्र छ, उहाँले भन्नुभयो–अझै उठ्न बाँकी १८ लाख ३० हजार रहेको छ, प्रतिवेदनमा उल्लेख गरेको र विद्यालयको वास्तविक आम्दानीमा ठूलो फरक देखिन्छ, आर्थिक प्रतिवेदनमा सत्यता छैन् ।’

विद्यालयको आय व्यय कागजातहरु दुरुस्त रहेको र विद्यालयमा गएर जतिखेर पनि हेर्न सकिने खनालले स्पस्ट पार्नुभयो । त्यस्तै उहाँले विद्यालय व्यवस्थापन समिति र अध्यक्षले मनोमानी ढंगले आफु र लेखापालका कुरा नसुनी, सफाई समेत पेश गर्न नदिई सार्वजनिक मिडियामा ल्याउने, विभिन्न कार्यालयहरुमा पत्राचार गर्ने जस्ता गैरकानुनी, गैरसंस्थागत कार्यहरु गरी प्रअ र लेखापालको व्यक्तिगत चरित्र हत्या गरी सिंगो संस्थालाई नै भ्रमित पार्ने काम गरेको भन्दै खेद समेत व्यक्त गर्नुभएको छ । 

आर्थिक प्रतिवेदनमा विव्यसको निर्णय, खातामा जम्मा गरेको भौचर, खर्च भएको भौचर बिल, भरपाई राम्रोसंग रुजु नगरिएको, नीजि स्रोतका शिक्षक कर्मचारीलाई तलब भत्ता खुवाउन नपुगि लिएको ऋणलाई समेत बेरुजु भनिएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिले गठन गरेको आर्थिक उपसमितिले विद्यालयमा ५५ लाख ७३ हजार ४ सय ७१ रुपैंया वेरुजु भएको आर्थिक प्रतिवेदन तयार पारेको छ । 

उक्त प्रतिवेदनमा प्रअ र लेखापालको जिम्मेवारी औंल्याइएको छ । आज निर्वतमान प्रअ खनाल र लेखापाल ठगबहादुर बुढाथोकीले पत्रकार सम्मेलनको आयोजना गरी यसलाई खण्डन गर्नुभएको हो । 

उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले भने कानुनी रुपमै निमित्त प्रअ तोकिएको बताउनुभएको छ । विद्यालय व्यवस्थापन समितिले शिक्षक गोपिराम केसीलाई निमित्त प्रअ बनाउने निर्णय गर्दै मुसिकोट नगरपालिकामा सिफारिस गरेको थियो । जसलाई नगरपालिकाले स्वीकृत गरिसकेको छ ।

त्यस्तै विव्यस अध्यक्ष केसीले आर्थिक प्रतिवेदन फाइनल नभएको र आफ्नो तर्फबाट कतै मिडियामा सार्वजनिक नभएको बताउनुभयो । ‘आर्थिक प्रतिवेदनमा एक खालको हिशाव आएको छ, प्रअ र लेखापालका तर्फबाट एउटा हिशाव आउला, दुवै हिशावलाई हेरेर अन्तिम रिपोर्ट बन्ला उहाँले भन्नुभयो–छलफलकै क्रममा छ, कसैलाई फसाउने नियतले केही गरिएको छैन् ।’ जिल्लाकै जेठो विद्यालय त्रिजमावि फेरि एक पटक अस्थिर बनेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update