रुकुम पश्चिममा भूकम्पले क्षति पुर्याएका झन्डै साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका ६ वटै पालिकाका १३ हजार तीन सय ८३ लाभग्राहीले पहिलो किस्ता बापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । सबै भन्दा बढी आठबीसकोट नगरपालिकाका चार हजार सात सय ४२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ५९ लाभग्राहीले पहिलो किस्ता बापत रकम प्राप्त गरेका हुन् ।
त्यस्तै सानीभेरी गाउँपालिकामा दुई हजार तीन सय २१, त्रिवेणी गाउँपालिकामा दुई हजार ६८ लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्दा बाँफिकोट गाउँपालिका भने लाभग्राहीले अझै अस्थायी आवास निर्माणको लागि रकम पाउन सकेका छैनन् । आठबीकोटमा सात हजार लाभग्राहीको लागि जिल्ला विपत् व्यवस्थापन कोषबाट रकम प्राप्त भए पनि बैङ्कमा खाता सञ्चालन भएका चार हजार सात सय ४२ लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम पठाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिका भर नौ हजार नौ सय ६२ लाभग्राहीहरूको सङ्ख्या यकिन भएको छ । बाँकी लाभग्राहीलाई पनि खाता सञ्चालन भएपछि तत्काल रकम पठाइने उहाँले जानकारी दिनुभयो । त्यहाँ हालसम्म दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेका छन् । तीन हजार ६ सय ९० वटा अस्थायी आवास निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।
चौरजहारी नगरपालिकामा चार हजार एक सय ९३ लाभग्राहीको खातामा रकम पठाइएको छ । जिल्ला विपत् व्यवस्थापन कोषबाट ६ हजार दुई सय ७९ लाभग्राहीको लागि रकम प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा आठ हजार तीन सय ८३ लाभग्राही पहिचान भएको छ । अझै पूर्ण विवरण सङ्कलन गर्न केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो । त्यहाँ १ सय १८ अस्थायी आवास निर्माण सम्पन्न हुँदा एक हजार पाँच सय ३३ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् ।
सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माण गर्न दुई हजार तीन सय २१ लाभग्राहीले पहिलो किस्ता पाएका छन् । पालिका भर हालसम्म पाँच हजार चार सय २५ लाभग्राही पहिचान भएका छन् । अन्यले पहिलो किस्ता बापतको रकम पाउन बाँकी रहको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभर हालसम्म विभिन्न राजनीतिक दल सङ्घसंस्था तथा सरकारको अनुदानमा एक हजार ६ सय अस्थायी आवास निर्माण भएका छन् । बाँकी अस्थायी आवास निर्माणको काम जारी रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै त्रिवेणी गाउँपलिकामा जिल्ला विपत् व्यवस्थापन कोषबाट प्राप्त भएको सबै रकम अर्थात् दुई हजार ६९ लाभग्राहीको लागि आएको रकम खातामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेका ६ सय ७३ लाभग्राहीको लागि रकम माग गरेर पठाइएको छ । विवरण सङ्कलनको काम अझै जारी छ । पालिकामा हालसम्म दुई सय २२ अस्थायी आवास निर्माण सम्पन्न भएको र दुई सय ६४ अस्थायी आवास निर्माणको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिनुभयो ।
जिल्ला विपत् व्यवस्थापन कोषबाट मुसिकोट नगरपालिकामा पाँच सय ६६ लाभग्राहीका लागि रकम प्राप्त भएकोमा हालसम्म ५९ लाभग्राहीलाई रकम पठाइएको नगरपालिकाले जनाएको छ । यहाँ हालसम्म नौ सय भन्दा बढी लाभग्राही पहिचान भएका छन् । बाँफिकोट गाउँपालिकामा जिल्ला विपत् व्यवस्थापन कोषबाट एक हजार ६ सय ९९ लाभग्राहीका लागि रकम गएको भए पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा हालसम्म कुनै पनि लाभग्राहीले अस्थायी आवास निर्माणको लागि रकम पाउन सकेका छैनन् ।
यसैबिच जिल्लामा अस्थायी आवास निर्माणका लागि प्राप्त भएको ५० करोड रकम अपुग भएपछि सङ्घीय सरकार समक्ष माग ग गरी पठाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।





-1759842583.jpg)