रुकुम पश्चिमको त्रिवेणी गाउँ कार्यपालिकाको कार्यालय खारानेटा परिसरमा वृक्षारोपण गरिएको छ । संविधान दिवसको अवसरमा आज कार्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । डिभिजन वन कार्यालय र गाउँपालिकाको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको मुसिकोट सब डिभिजन वन कार्यालय प्रमुख वन अधिकृत अनिशा पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कल्की, गुलमोहर, पारिजात, वीरेन्द्र फूल लगायत प्रजातिका ५० वटा बिरुवा रोपिएको हो । प्राकृतिक सुन्दरता र स्वच्छ वातावरणका लागि गाउँ कार्यपालिका कार्यालय परिसरको खाली ठाउँमा विभिन्न प्रजातिका बिरुवा रोपिएको उहाँले बताउनुभयो ।
वृक्षारोपणमा गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, डिभिजन वन कार्यालय प्रमुख डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकृत यज्ञ भण्डारी, वन अधिकृतहरू अनिशा पराजुली, सारा परियार, कविता घले लगायत गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो । वन कार्यालय मार्फत यसअघि सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत जिल्लामा हजारौँ बिरुवा रोपिएको थियो ।





