रुकुम पश्चिममा पनि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । विभिन्न निकायको साझेदारीमा भाद्र २ गते र आज जिल्लामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।
दिवसको अवसरमा आज बिहान मुसिकोट खलङ्गामा प्रभात फेरि निकालिएको छ । खलङ्गाको कालिका स्थानबाट सुरु भएको प्रभात फेरि खलङ्गा बजार परिक्रमा गर्दै बाल मन्दिर परिसरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
प्रभात फेरिमा सहभागीहरूले संविधानका पक्षमा विभिन्न नारा लेखिएका प्ले कार्डहरू बोकेका थिए । प्रभात फेरि पछि बाल मन्दिरमा संविधान दिवस समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको अध्यक्षतामा औपचारिक कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रमका वक्ताहरूले संविधानको रक्षामा जोड दिएका थिए । बेला बेलामा विभिन्न प्रकारले संविधानमा प्रहार भइरहेको भन्दै वक्ताहरूले संविधानको रक्षाका लागि सबै पक्ष एक जुट हुनुपर्नेमा जोड दिए ।
-1789818418.jpeg)
संविधान आफैमा पूर्ण नहुने र आवश्यकता अनुसार संशोधन हुँदै जाने परिकल्पना संविधानले नै गरेकोले समयानुकूल संविधान संशोधन गर्न सकिने भन्दै वक्ताहरूले संविधानमाथिको अनावश्यक प्रहार सह्य नहुने बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले नेपालको संविधान उत्कृष्ट रहेको भन्दै यसलाई जोगाएर समृद्धिको मार्ग कोर्नुपर्ने धारणा राख्नुभयो । संविधानले नै आवश्यकता अनुसार संशोधनको परिकल्पना गरेकोले संशोधनको माध्यमबाट अझ उत्कृष्ट बनाउन सकिने उहाँको भनाई छ ।
तर संविधान माथिको छेडखानी कुनै पनि देशभक्तिलाई सह्य नहुने उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, कर्णाली प्रदेश सभाका पूर्व सदस्य देवी ओली, जिल्लास्थित सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।
-1789818417.jpeg)
कार्यक्रममा जिल्लास्थित विभिन्न विद्यालयका विद्यार्थी लगायत जिल्लावासी सर्वसाधारणहरूको समेत उपस्थिति रहेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत राखिएको थियो । जिल्ला समन्वय समितिका जितबहादुर ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी मेघबहादुर सोनीले गर्नुभएको थियो ।
दिवसको अवसरमा जिल्लामा हिजो वृक्षारोपण, सरसफाइ, बिरामीलाई फलफूल वितरण, विद्यार्थीहरूलाई खेलकुद लगायतका सामग्री वितरण जस्ता कार्यक्रमहरू भएका थिए ।
संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो ।
त्यही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
-1789818420.jpeg)
-1789818417.jpeg)
-1789818418.jpeg)






