रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा राम्रो उत्पादन भएको छ । अदुवा बिक्रीबाटै पालिकामा झन्डै साढे ६ करोड भित्रिएको छ । पालिका भर दुई हजार ६ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख भित्रिएको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभरमा यस वर्ष १५ लाख ६० हजार केजी अर्थात् १५ हजार ६ सय क्विन्टल अदुवा उत्पादन भएको छ ।
अदुवा खेती गर्ने दुई हजार ६ सय घरधुरी रहेकामा प्रत्येक किसानले करिब दुई रोपनीमा अदुवा खेती गर्ने गरेको शाखा प्रमुख पुनले जानकारी दिनभयो । पालिकाभर पाँच हजार दुई सय रोपनी अर्थात् दुई सय ६० हेक्टर क्षेत्रफलमा अदुवा उत्पादन भइरहेको छ । एक रोपनी जग्गामा तीन सय केजी अर्थात् तीन क्विन्टल सम्म अदुवा उत्पादन हुने गरेको उहाँको भनाई छ । प्रत्येक किसानले गाउँबाटै एक प्रति क्विन्टल चार हजार रुपैयाँका दरले अदुवा बिक्री गरेका छन् ।
व्यापारी गाउँमै पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ । व्यावसायिक रूपमा अदुवा खेती गरिरहनुभएका त्रिवेणी ४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा विक्रीबाट एक लाख आम्दानी गरेको बताउनुभयो । विगत २० वर्षदेखि खड्काले निरन्तर अदुवा खेती गरिरहनुभएको छ । यस वर्ष उत्पादन भएको मध्ये साढे ३ क्विन्टल बिउको लागि र १२ क्विन्टल प्रति क्विन्टल चार हजार देखि ८ हजार रुपैयाँका दरले विक्री गरेको खड्काले बताउनुभयो ।