रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ मा रहेका विभिन्न प्राकृतिक, पर्यटकीय तथा सांस्कृतिक सम्पदाको पहिचान, अवलोकन र संरक्षणको आवश्यकता उजागर गर्ने उद्देश्यले शनिवार विशेष क्षेत्र भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ।
कात्तिक २१ गते बिहान ७ बजे सानीभेरीबाट प्राविधिक टोलीले र बिहान ८ बजे मुसीकोटको सोलाबाङबाट कार्यक्रम संयोजक पूर्ण ओली, शिक्षाविद्लगायतको टोलीले यात्रा सुरु गरेको थियो । सिम्रुतुबाट स्थानीय साहित्यकार दिलीप देवकोटा र वडा नम्बर ५ को कार्यालयबाट गाउँपालिका अध्यक्ष गणेशकुमार केसीसमेत सहभागी भएपछि टोली हाइरु गाउँको टाकुरा टोल पुगेको थियो ।
त्यहाँ कार्यक्रमका अध्यक्ष मनलाल ओली, सञ्चालक कमानसिंह ओली, व्यवस्थापक दिलेन्द्र ओली वयोवृद्ध अभिभावक पूर्णसिँह ओली, पूर्व शिक्षक लोकबहादुर खड्कालगायत शिक्षक विद्यार्थीहरू, आमा समूहहरू स्थानीय सरोकारवाला गरी ६० जनाभन्दा बढी सहभागीहरू जम्मा भएका थिए ।
अवलोकन कार्यक्रमको सुरुआत टाकुरा टोल नजिकै रहेका ढिकी कुट्ने ओडार र चमेरे गुफाबाट गरिएको थियो। त्यसपछि घट्टेखोला वन र हाइरु खोलाको क्षेत्र हुँदै टोली मझौडाँडा पुगेको थियो । मझौडाँडानजिक रहेको नौकोठे गुफाको अवलोकनपछि टोली खट्करे चौर पुगेको थियो । दिनभरि विभिन्न प्राकृतिक सम्पदाको अवलोकन, सांस्कृतिक प्रस्तुति र स्थानीय प्रतिभाको प्रदर्शन गरिएको थियो । खट्करे चौरमै रुकुम साहित्यमालाको औपचारिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
ओझेलमा परेका अनेकौँ प्राकृतिक सम्पदा
जस क्रममा हाइरुको टाकुरा, गाउँ वन, खोला, जडीबुटी, ढिकी कुट्ने ओडार, चमेरे गुफा, नौकोठे गुफा, खट्करे चौर, जिलाधुरी, सिन्दुरहाले, खामेधुरी, बल्लेजुरा, बोजाबारी, सालाबाङी जेल, अँधेरीगैरा वन, घट्टेखोला वन, पाल्नो पाखा वन र भोकाधुरी वनलगायतका स्थान तथा सम्पदाहरूको पहिचान र अवलोकन गरिएको थियो ।
सिम्रुतु–बल्लेजुरी सडकको टाकुरा गाउँबाट करिब ३०० मिटर उत्तरतर्फ रहेको ढिकी कुट्ने ओडार करिब ३ मिटर चौडा, ५ मिटर अग्लो र ५० मिटर लामो रहेको छ । ओडारभित्र चुन पग्लिएर बनेका विभिन्न आकृतिका प्राकृतिक संरचनाहरू देख्न सकिन्छ ।

यसै ओडारबाट करिब ५० मिटर पूर्वतर्फ रहेको चमेरे गुफा त्रिवेणी क्षेत्रकै सबैभन्दा ठुलो गुफाका रूपमा देखिएको छ । प्रारम्भिक अवलोकनअनुसार गुफाको चौडाइ १ देखि ५ मिटरसम्म, उचाइ २ देखि १० मिटरसम्म र लम्बाइ १०० मिटरभन्दा बढी रहेको अनुमान गरिएको छ ।
गुफाभित्र गहिरा दुला तथा खाल्डाहरू, पानी तपतप चुहिने विशाल चट्टानी भित्ताहरू र विभिन्न अनौठा प्राकृतिक आकृतिहरू छन् । सयौँ चमेराहरूको वासस्थान रहेको यस गुफामा एक ठाउँबाट प्रवेश गरेर अर्को ठाउँबाट निस्कन सकिने भए पनि कतिपय भागमा उक्लन र झर्न निकै कठिन छ । यसको भौगर्भिक बनावट र वास्तविक लम्बाइबारे थप वैज्ञानिक अध्ययन आवश्यक देखिन्छ ।
त्रिवेणी गाउँपालिकाको केन्द्र सिम्रुतु बजारबाट करिब १० किलोमिटर उत्तरपूर्वमा मझौडाँडानजिक रहेको नौकोठे गुफा अर्को अनौठो प्राकृतिक सम्पदा हो । सडकबाट करिब ५०० मिटरको दूरीमा रहेको यस गुफामा बाहिरबाट प्रवेश गर्ने द्वार एउटै छ । भित्र पस्दै जाँदा फराकिला कोठा, साँघुरा प्रवेशद्वार, चोक र झ्यालजस्ता प्राकृतिक संरचना देखिन्छन् ।
स्थानीय भनाइअनुसार गुफामा नौवटा कोठा छन्। अवलोकनका क्रममा सहभागीहरू पाँच वटा कोठासम्म पुगेका थिए । गुफाभित्र विभिन्न अनौठा प्राकृतिक आकृतिहरू देखिन्छन् । हावा आवतजावत गर्ने बाहिरी द्वार एउटै भएकाले भित्रतिर जाँदा अक्सिजनको कमी हुँदै जाने अनुभव गरिएको थियो । यस गुफाको थप अन्वेषण गर्दा वैज्ञानिक अध्ययन र सुरक्षा सावधानी आवश्यक देखिन्छ ।

मझौडाँडाबाट करिब एक किलोमिटरको दूरीमा रहेको खट्करे चौर यस क्षेत्रको अर्को महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो । विशाल क्षेत्रफलमा फैलिएको यस चौरबाट त्रिवेणी गाउँपालिकाका अधिकांश भूभागको अवलोकन गर्न सकिन्छ । यहाँबाट रुकुम, जाजरकोट, सुर्खेत र डोल्पातर्फका हिमशृङ्खला, उच्च पहाड, गाउँबस्ती तथा नदीनालाहरूको मनोरम दृश्य देखिन्छ ।
त्रिवेणीको उच्च शिखर जिलाधुरी पनि यही क्षेत्रबाट नजिकै देखिन्छ । गहिरा वनजङ्गलले घेरिएको खट्करे चौरबाट एकै स्थानमा उभिएर विभिन्न प्राकृतिक सम्पदाको अवलोकन गर्न सकिने भएकाले यो दृश्यावलोकन, वनभोज तथा चलचित्र र वृत्तचित्र छायाङ्कनका लागि समेत सम्भावनायुक्त स्थल देखिएको छ ।
जैविक विविधता र जडीबुटीको सम्भावना
हाइरु खोला आसपासका वन तथा क्षेत्रमा श्वेतचन्दन, ओखर, पाँगर, आरेकाठ, मुलापाते, कुरिल्लो, पासानवेद र वनतुलसीलगायतका वनस्पति तथा जडीबुटी पाइने जानकारी अवलोकनका क्रममा प्राप्त भएको थियो। अँधेरीगैरा वन, घट्टेखोला वन, पाल्नो पाखा वन र भोकाधुरी वनलगायतका क्षेत्र पनि जैविक विविधता र प्राकृतिक सम्पदाका दृष्टिले महत्त्वपूर्ण देखिएका छन् ।
स्थानीय सम्पदाको संरक्षणमा गाउँपालिका अध्यक्षको चासो
खट्करे चौरमा आयोजित औपचारिक कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रम सञ्चालक कमानसिंह ओलीले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्य तथा औचित्यमाथि खोजकर्ता एवं कार्यक्रम संयोजक पूर्ण ओलीले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले स्थानीय सम्पदाको पहिचान र संरक्षण अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूलाई त्रिवेणीका विभिन्न क्षेत्रको भ्रमण गराउन गाउँपालिकाले बजेट छुट्याएको जानकारी दिनुभयो ।
सम्पदाको संरक्षण, पूर्वाधार निर्माण र पर्यटन विकासका लागि पर्याप्त स्रोतसाधन आवश्यक भए पनि उपलब्ध बजेट अपर्याप्त रहेको उहाँको भनाइ थियो। यस विषयमा गाउँपालिका गम्भीर रहेको र सम्पदाको संरक्षण तथा विकासका लागि सबै पक्षको चासो र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा विभिन्न आमा समूहले प्रस्तुत गरेका सांस्कृतिक कला तथा प्रतिभाको प्रशंसा गर्दै अध्यक्ष केसीले आमा समूहलाई कार्यक्रम स्थलमै दुई हजार रुपैयाँ प्रोत्साहन रकमसमेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद्, शिक्षक, विद्यार्थी, स्थानीय साहित्यकार, प्राविधिक तथा सर्वसाधारणको सहभागिता रहेको थियो । अवलोकनका क्रममा कविन्द्र पुन र प्रेम पुनले ड्रोन क्यामेरा, जीपीएस र अल्टिमिटरजस्ता आधुनिक उपकरण प्रयोग गरी विभिन्न स्थानको भौगोलिक पहिचान, फोटो तथा भिडियो अभिलेखीकरण गरिएको थियो ।

स्थानीय पहिचान र समृद्धिको आधार
अवलोकनका क्रममा स्थानीय बासिन्दाहरूले आफ्नै घरआँगन नजिक रहेका महत्त्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक सम्पदाबारे पर्याप्त जानकारीसमेत नराखेको तथ्य उजागर भएको थियो । पुस्तौँदेखि देख्दै र भोग्दै आएका कतिपय सम्पदाको ऐतिहासिक, पर्यटकीय, वातावरणीय र आर्थिक महत्त्वबारे स्थानीय समुदाय नै अनभिज्ञ रहनु चिन्ताको विषय भएको सहभागीहरूको धारणा थियो ।
यी सम्पदाहरूको व्यवस्थित अध्ययन, पहिचान, अभिलेखीकरण, संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण तथा आयआर्जनका नयाँ अवसर सिर्जना हुन सक्छन् । यसले स्थानीय बासिन्दाको जीवनस्तर उकास्नुका साथै त्रिवेणी गाउँपालिकाको पहिचान, गर्व र गरिमा बढाउन महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ ।
कार्यक्रममा प्राकृतिक सम्पदाको अवलोकनसँगै विभिन्न सांस्कृतिक समूहका प्रस्तुति, स्थानीय प्रतिभा प्रदर्शन, रुकुम साहित्यमाला तथा लक्ष्मी जयन्तीसम्बन्धी साहित्यिक र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

स्थानीय सम्पदाको पहिचान र संरक्षणलाई पर्यटन, संस्कृति, शिक्षा र आर्थिक विकाससँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले त्रिवेणीका ओझेलमा परेका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई उजागर गरेको छ । यी सम्पदाको संरक्षण र दिगो उपयोगका लागि स्थानीय सरकार, समुदाय, विद्यालय, साहित्यिक तथा सांस्कृतिक संस्था र सरोकारवाला सबैको सहकार्य आवश्यक देखिएको छ ।







