सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरा रुकुम पूर्वका ओमप्रकाश खड्कालाई यो वर्ष अघिल्लो वर्ष जस्तो साथीभाइ सँग भेटघाट गर्ने, गफ लगाउने फुर्सद छैन । दुई दशक देखि मौरी पालन व्यवसाय गर्दै आउनु भएका खड्कालाई गत कात्तिक देखि अहिलेसम्म मह निकाल्न भ्याई नभ्याई छ । खड्कासँग एक सय २५ ओटा मौरीका गोला छन् । उहाँले अझै आधा गोलाबाट मह निकाल्न बाँकी छ । खड्काले यस वर्ष चार सय धार्नी मह उत्पादन हुने अनुमान गर्नुभएको छ । अहिलेसम्म दुई सय ५० धार्नी मह विक्री गरेर सात लाख ५० हजार रुपैयाँ आम्दानी भएको जानकारी खड्काले दिनुभयो । अब एक सय ४० धार्नी मह विक्री हुन बाँकी छ । सबै मह विक्री भयो भने यो सिजनमा करिब १२ लाख बराबरको आम्दानी हुने उहाँले बताउनुभयो ।
सोही ठाउँका कमलाल खड्का पनि मौरी पालक किसान हुनुहुन्छ । कमलालका घर वरपर ७० ओटा मौरीका घार छन् । ६० ओटा गोलाबाट एक सय ८० धार्नी मह उत्पादन भएको छ । १० वटा गोलाबाट अझै मह निकाल्न बाँकी छ भने एक सय आठ धार्नी मह विक्री भइसकेको छ । विक्री भएको महबाट तीन लाख २४ हजार रुपैयाँ आम्दानी गरेको कमलालले जानकारी दिनुभयो । अझै ७२ धार्नी मह विक्री हुन बाँकी छ । कमलालको यो सिजनमा सात लाख बराबरको आम्दानी हुने देखिएको छ ।
सोही वडाका गङ्गाराम खड्कासँग पनि ५० ओटा मौरीका गोला छन् । सबै गोलाबाट दुई सय धार्नी मह उत्पादन भयो । यस वर्ष उहाँले महबाट ६ लाख रुपैयाँ भित्र्याउनुभयो । ओमप्रकाश, कमलाल र गङ्गाराम मात्र होइन यस वडाका अधिकांशका घरमा मह पाइन्छ । एक धार्नी महको तीन हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगन्ज पोखरा र काठमाडौँ लगायतका ठाउँ सम्म पुग्ने गरेको छ ।
मह विक्री गरेर यस वडाका सर्वसाधारणले मनग्ये आम्दानी गर्ने गरेका छन् । पोखरामा व्यावसायिक रूपमा मौरी पालन गर्ने किसान सङ्ख्या धेरै छ । वडाका लगभग सबै घर वरपर मौरीका गोलाहरू देख्न सकिन्छ । ३ नम्बर वडालाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ ।
![Maha Ko Bajar Avab 080.09.10 Rkm west (1)1704700905.jpg](https://www.kakhara.com/uploads/posts/Maha Ko Bajar Avab 080.09.10 Rkm west (1)1704700905.jpg)
किसानहरू हर्षित
यो वर्षको मह उत्पादनले गर्दा मौरी पालक किसानहरू हर्षित भएका छन् । व्यवसाय छोड्ने योजना भएका किसानहरू पनि व्यवसाय विस्तार गर्ने तयारीमा छन् । मह उत्पादनमा वृद्धि भए देखी किसानको मनमा खुसी छाएको हो । मह उत्पादनले आफूलाई हौसला मिलेको किसानहरूको भनाई छ । सोचेको भन्दा बढी मह उत्पादनले आफूहरूको मनोबल बढाएको मौरी पालक किसान भागिदल खड्का बताउनुहुन्छ ।
यो वर्ष चिउरीले फुल लगाउने समयमा वर्षा नभएका कारण मह उत्पादनमा वृद्धि भएको किसानको बुझाई छ । मौरीलाई चरन क्षेत्र प्रशस्त भएका कारण धेरै मात्रामा मह उत्पादन भएको किसान कमलालले बताउनुभयो । उहाँ मौरी व्यवसायलाई अझै बढाउने योजनामा हुनुहुन्छ । ५० ओटा मौरीका गोला थप गर्ने तयारी उहाँको रहेको छ ।
![Maha Ko Bajar Avab 080.09.10 Rkm west (3)1704700931.jpg](https://www.kakhara.com/uploads/posts/Maha Ko Bajar Avab 080.09.10 Rkm west (3)1704700931.jpg)
एक करोड १५ लाख जति आम्दानी हुने अनुमान
वडा अध्यक्ष हेराम खड्काले यस वर्ष वडामा ९० लाख बराबरको मह उत्पादन भएको जानकारी दिनुभयो । आउँदा दिनहरूका लागि मौरी पालक किसानका लागि अनुदानका कार्यक्रम माग गरेको उहाँले बताउनुभयो । अहिले उत्पादित महलाई बजारको समस्या देखिको भए पनि यो दीर्घकालीन समस्या नभएको उहाँको भनाई छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा दोब्बरले मह उत्पादन बढेको एकीकृत पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वका प्रमुख पीताम्बर बस्नेतले जानकारी जानकारी दिनुभयो ।
गएको वर्ष जिल्ला मा १२ सय मौरीका गोला बाट ६ मेट्रिक टन मात्र मह उत्पादन भएको थियो भने यो वर्ष १७ सय मौरीका गोलाबाट १२ मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । अझै पनि किसानहरूको मह निकाल्ने काम जारी भएको हुँदा अहिले नै कुल कति मह उत्पादन भयो भनेर भन्न नसकिने कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो । उत्पादित मध्य ८० प्रतिशत मात्र विक्री भयो भने पनि किसानले एक करोड १५ लाख २० हजार रुपैयाँ आम्दानी गर्ने कार्यालयको भनाई छ ।
![Maha Ko Bajar Avab 080.09.10 Rkm1704700966.jpg](https://www.kakhara.com/uploads/posts/Maha Ko Bajar Avab 080.09.10 Rkm1704700966.jpg)