पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले मौलिकतालाई यथावत राखेर भूकम्प पछिको पुनर्निर्माण हुनुपर्ने बताउनुभएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आयोजना गरेको भूकम्प पछिको पुनर्निर्माण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अहिलेको पुनर्निर्माण २०७२ सालको भूकम्पको भन्दा फरक खालको परम्परागत मौलिक प्रकृतिका घर यथावत् राखेर बचाएर जाने गरी घर निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
यसबाट संस्कृति र रहनसहन बच्ने उहाँको भनाई छ । घर मात्र बनाउने कुरो मात्र पुनर्निर्माण नभएको भन्दै उहाँले जीविकोपार्जन गरेर खान सक्ने गरी अघि बढ्नुपर्ने चुनौती रहेको बताउनुभयो । साथै उहाँले घर बनाउने अधिकार स्थानीय सरकारलाई दिनुपर्ने, सार्वजनिक संरचना बनाउने जिम्मा प्रदेश सरकार लाई दिनुपर्ने र पैसा तथा नीति सङ्घ सरकारले बनाउने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
गरिबिको अवस्था हेरेर राहत रकम बढाउनुपर्ने, व्यक्ति आफैँले रकम थप गर्न चाह्यो भने सोही अनुसारको घर बनाउन अनुमति दिनुपर्ने समेत उहाँले बताउनुभयो । दुई वर्ष भित्रमा पुनर्निर्माण सक्ने गरी अगाडी बढ्ने योजना रहेको उहाँले सुनाउनुभयो । राहतको सन्दर्भमा उहाँले यो निरन्तर आवश्यक नरहेको र धेरै राहतको आस पनि नगर्न भूकम्प प्रभावितलाई आग्रह गर्दै राहतले पर निर्भरता बढाउने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।
![420090351_10229598242893073_3241235729961606060_n1705477063.jpg](https://www.kakhara.com/uploads/posts/420090351_10229598242893073_3241235729961606060_n1705477063.jpg)
पुनर्निर्माणका लागि सिकर्मी, डकर्मी तालिम समेत आयोजना हुने जानकारी सांसद शर्माले गराउनुभएको थियो । जग्गा नभएका प्रभावितलाई घडेरी किन्ने तथा सस्तो ब्याजदरमा भूकम्प पीडितलाई ऋण आवश्यक रहेकोमा समेत उहाँले जोड दिनुभयो । कार्यक्रमका सहभागीहरूले धारा शौचालय पनि पुनर्निर्माण समेट्नुपर्ने, मापदण्ड अनुसार टहरा बनेन भनेर दोस्रो किस्ता अड्काउन नहुने, अपाङ्गता भएका व्यक्तिलाई विशेष गरी हेर्नुपर्ने, सबै जनताको स्वास्थ्य उपचार निःशुल्क गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
गत कार्तिक १७ गतेको जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्बन्धी छलफल तथा सुझाव सङ्कलन गर्ने र सङ्घीय सरकारलाई सुझाव दिने उद्देश्यले आठबिसकोट नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।
![420090614_10229598243293083_6311926732075549884_n1705477062.jpg](https://www.kakhara.com/uploads/posts/420090614_10229598243293083_6311926732075549884_n1705477062.jpg)
आज नगरपालिकाका दुई ठाउँ राडी र बाँकेजिउलामा कार्यक्रम भएको हो । कार्यक्रममा नगरपालिकाका राजनीतिक दल तथा सरोकारवालाहरूको सहभागिता रहेको छ । भोली सानीभेरी गाउँपालिकाका दुई ठाउँमा यो कार्यक्रम सञ्चालन हुँदै छ । भूकम्पले जिल्लाका आठबिसकोट र सानीभेरीमा ठुलो क्षति पुगेको छ ।