
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखका दुई दिदी बहिनी १५ दिन पछि फेला परेका छन् । गत पौष २४ गते देखि घरबाट सम्पर्क विहीन भएका १३ बर्सिया विमला पुन र ११ बर्सिया आरोही पुन १५ दिनपछि आज मुसिकोट नगरपालिका १० मा फेला परेका हुन् । उनीहरू एकै घरका दिदी बहिनी हुन् ।
चौखावाङको गलमपाटी देखि तलको एक घरमा उनीहरू सकुशल फेला परेको र घर ल्याइएको उनीहरूका ठुलो बुवाका छोरा हरि पुनले जानकारी दिनुभयो । उनीहरू बेपत्ता भएको खबर पाएपछि स्थानीयले सम्पर्क गरेर दिदी बहिनीका बारेमा जानकारी गराएको उहाँको भनाई छ ।
दिदी बहिनी चार दिन अघि खलङ्गाबाट आफूसँग आएको उक्त घरकी महिलाले जानकारी गराएको पुनले बताउनुभयो । उनीहरू जुन घरमा बसिरहेका थिए त्यस घरकी घरबेटीले खलङ्गाको बराहटाकुरामा दिदी बहिनी आफूसँग भेटिएको, आफूले खाजा समेत खुवाएको र पछि हामी घर जान्नौ तपाइसँगै जान्छौँ भनेपछि उनीहरू आफूसँगै आएको बताएको पुनको भनाई छ ।
उनीहरूले घरबाट पैसा समेत लिएर गएको देखिए पनि हाल साथमा पैसा भने नभेटिएको उहाँले बताउनुभयो ।