
इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्ड्स नेटवर्कमा कार्यरत कर्मचारीहरूले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठका स्वर्गीय सुमन थापाको परिवारलाई सहयोग गरेका छन् । टेकमाइण्ड्समा कार्यरत २४ वर्षीय थापाको गत पौष २५ गते इन्टरनेट मर्मतका क्रममा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा करेन्ट लागेर ज्यान गएको थियो ।
यसअघि नै थापाको परिवार र टेकमाइण्ड्स नेटवर्कका बिचमा क्षतिपूर्ति र किरिया खर्च दिने तथा श्रीमतीलाई रोजगारी दिने सहमति भइसकेको थियो । सो बाहेक टेकमाइण्ड्समा कार्यरत देशभरका कर्मचारीहरूले सङ्कलन गरेको दुई लाख दुई हजार एक सय ३५ रुपैयाँ घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
मुसिकोट शाखाका मेनेजर विशाल विष्ट, सल्यान बागचौर शाखा मेनेजर प्रदीप बस्नेत लगायतको टोलीले थापाको मठमा अवस्थित घरमै पुगेर सहयोग रकम श्रीमतीलाई हस्तान्तरण गरेको हो । थापाकी श्रीमती र एक छोरी रहेकी छन् ।