
रूकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिकामा प्रहरी माथि नै कुटपिट भएकाे छ । वडा नम्बर ३ मा ड्युटीमा रहेका प्रहरी माथि नै कुटपिट भएकाे हाे ।
बाँफिकाेट गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय हिरालाल केसीसंग वडा नम्बर ३ का २७ वर्षीय गाेविन्द बिक, ४ का २२ वर्षिय लक्ष्मण विक र साेही ठाउँका २० वर्षीय सन्जु खड्का लगायतका १२, १३ जना युवाकाे विवाद भएकाे भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय बाँफिकाेटबाट सुरक्षा दिन पुगेकाे प्रहरी माथि नै उनीहरूले कुटपिट गरेका हुन ।
कुटपिटबाट दुई जना प्रहरी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएकाे छ । घाइते हुनेमा इप्रका बाँफिकाेटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र प्रहरी चाैकी मग्मामा दरबन्दी भई इप्रका बाँफिकाेटमा कार्यरत प्रहरी जवान हिमराज खड्का रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
घाइते मध्य शाहीकाे ढाडमा भित्री चाेट लागेकाे र हल्का बाेल्न सक्ने तथा खड्काकाे टाउकाेमा चाेट लागेकाे र बाेल्न सक्ने अवस्था रहेकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार घाइते दुवैलाई जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार पछि थप उपचारका लागि मेडिकल कलेज काेहलपुर पठाईकाे छ ।
सम्झाई बुझाई गर्दा प्रहरी माथि नै कुटपिट भएकाे र कुटपिट गर्नेहरू फरार रहेकाे खड्काले बताउनुभयाे । उनीहरूकाे खाेजी भइरहेकाे उहाँले बताउनुभयाे ।