Kakhara सबैको खबर सम्पूर्ण खबर
खेलकुदमा मात्र होइन युवाले देशकै नेतृत्व गर्नुपर्छ: मुख्यमन्त्री शर्मा 

कणाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले युवाले समाजको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ बेलटापु खेलमैदानमा १४ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले युवाले खेल क्षेत्रको मात्र नभई देशकै नेतृत्व गर्नुपर्ने बताउनुभएको हो । युवा भनेको देशको जुनसुकै क्षेत्रमा नेतृत्व गर्न सक्ने खम्बा भएकाले खेल क्षेत्रमा मात्र सीमित नहुन उहाँले आग्रह गर्नुभयो । 

युवाले सिङ्गो देशको नेतृत्व गर्नुपर्ने उहाँको भनाई थियो । शिल्डलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिनुहुँदै मुख्यमन्त्री शर्माले शिल्डलाई जित र हारको रूपमा नलिई स्वच्छ क्षमता प्रदर्शन गरी जिल्लालाई प्रदेश, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी कला प्रदर्शन गर्ने अवसरका रूपमा लिन पनि आग्रह गर्नुभयो । "हार्ने व्यक्तिको पनि क्षमता हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । अनुशासित ढङ्गले खेल प्रस्तुत गर्न र सञ्चालक समितिलाई पनि व्यवस्थित रूपमा विद्यार्थीहरूको रेखदेख गर्न अनुरोध गर्दछु" उहाँले भन्नुभयो । 

रुकुम पश्चिममा विद्यार्थीहरूले खेलकुद मैदान पर्याप्त नभएका कारण खेलमैदानको माग गरिरहेको र यसमा प्रदेश सरकार गम्भीर रहेको उहाँको भनाई छ । कर्णाली प्रदेशमा २०८१ सालमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएकाले रङ्गशाला निर्माण गर्न बढी बजेट छुट्टाउनु परेकाले जिल्ला र पालिकामा खेल मैदान, खेलकुद सामग्रीको लागि पर्याप्त बजेट छुट्टाउन नसकिएको उहाँले बताउनुभयो । 

कर्णाली प्रदेशको सुर्खेतमा रङ्गशाला निर्माणको काम सम्पन्न पश्चात् पालिकामा खेलमैदान कसरी व्यवस्थित गर्न सकिन्छ भनेर निरन्तर लाग्ने मुख्यमन्त्री शर्माले बताउनुभयो । वार्षिक दश हजारलाई रोजगारी दिने कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको पनि मुख्यमन्त्री शर्माले जानकारी गराउनुभएको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update