Kakhara सबैको खबर सम्पूर्ण खबर
काठमाडौँ वर्ल्ड स्कुलद्वारा जनविकास माविलाई आर्थिक सहयोग 
विद्यालयलाई चेक हस्तान्तरण गरिदैँ ।

गत कात्तिक १७ गते राती जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका१४ ज्यामिरेकोट टाकुरामा रहेको जनविकास माध्यमिक विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गर्न आर्थिक सहयोग प्राप्त गएको छ । एक कोठाको अस्थायी सिकाई केन्द्र निर्माण गर्न काठमाडौँमा रहेको काठमाडौँ वर्ल्ड स्कुलले एक लाख ६७ हजार तीन सय ५४ रकम आर्थिक सहयोग गरेको हो । 

विद्यालयमै पुगेर काठमाडौँ वर्ल्ड स्कुलका शिक्षक मुकुन्द महर्जनले जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपकसंगम थापालाई चेक हस्तान्तरण गर्नुभएको हो । काठमाडौँ वर्ल्ड स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकबाट सङ्कलन भएको उक्त रकम अस्थायी सिकाई केन्द्र निर्माण गर्न सहयोग गरिएको शिक्षक महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावित क्षेत्रका विद्यार्थीलाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यले रकम उपलब्ध बनाइएको हो । 

पहिलो चरणमा विद्यालयलाई चेक हस्तान्तरण गरिए पनि सोही रकमबाट ३० देखि ३५ जना विद्यार्थी अटाउने क्षमताको एक कोठे अस्थायी सिकाई केन्द्र निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिने बागेश्वरी असल शासन क्लब (बास) नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष करण विकले जानकारी दिनुभयो । उहाँका अनुसार अस्थायी सिकाई केन्द्र निर्माणको काम १५ दिनभित्र निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिने छ । अस्थायी सिकाई केन्द्र निर्माण गर्न बास नेपालले समन्वय गर्ने उहाँको भनाई छ । 

भूकम्प प्रभावित जनविकास माध्यमिक विद्यालयमा बाल शिक्षा देखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । भूकम्पले तीन वटा विद्यालय भवनमा क्षति पुर्‍याएपछि अहिले सात वटा अस्थायी सिकाई केन्द्र निर्माण गरेर पठनपाठन भइरहेको प्रधानाध्यापक दिपकसंगम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिपाल प्रयोग गरेर बनाएका सिकाई केन्द्र च्यातिन थालेको र चिसोमा पठनपाठन प्रभावकारी हुन सकेको छैन । तत्काल पुनः निर्माणमा सरकारले चासो दिनुपर्ने उहाँको भनाई छ । सोही विद्यालयमा अध्ययनरत तीन जना विद्यार्थीले भूकम्पकै कारण ज्यान गुमाउनु परेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update