Kakhara सबैको खबर सम्पूर्ण खबर
एक हप्ता भित्र ऋण नतिरे सानीभेरी जनप्रवाह कृषि सहकारीले कानुनी उपचार खोज्ने 
सहकारीकाे १५ औ‍ं साधारण सभा ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ पेदीमा रहेको सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थाले ऋण तिर्न ऋणीहरूलाई एक साताको समय दिएको छ । सहकारीले बिहीबार भएको साधारण सभा मार्फत एक सातामा खराब कर्जा असुल गर्ने निर्णय गरेको हो ।

ऋण लिएको लामो समयसम्म पनि फिर्ता नगर्ने सहकारी सदस्यहरूलाई एक साता भित्र ऋण फिर्ता गर्न अनुरोध गर्ने निर्णय भएको सहकारी अध्यक्ष सर्बजित घर्ती मगरले जानकारी दिनुभयो । तोकिएको समयमा ऋण फिर्ता नगरेमा कानुनी उपचार खोज्ने निर्णय भएको उहाँले बताउनुभयो । 

लामो समय देखि ताकेता गर्दा पनि ऋण असुल्न नसकेपछि सहकारीले कानुनी उपचार खोज्ने निर्णय गरेको उहाँको भनाई छ । खराब कर्जाका कारण सहकारी बदनाम हुने अवस्था आएको तथा सयौँ बचतकर्ताको लगानी डुब्ने खतरा बढेपछि सहकारीले खराब कर्जा असुलीमा कडाइका साथ लाग्ने निर्णय गरेको हो । 

संस्थाको सातौँ साधारण सभाबाट निर्वाचित सञ्चालन समितिका पदाधिकारीहरूले ठुलो परिमाणमा कर्जा लिई हालसम्म फिर्ता नगरेका कारण सहकारीको खराब कर्जा धेरै रहेको बताइएको छ । 

संस्थाका कोषाध्यक्ष नौमती डाँगी ओलीले साधारण सभामा प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार हाल सहरकारीको चुक्ता शेयर पुँजी रकम १९ लाख ९२ हजार रहेको छ । यस आर्थिक वर्षमा बचत तीन लाख ४७ हजार पाँच सय ६५ भएको छ भने दुई लाख ७६ हजार बचत फिर्ता गरिएको छ । 

हाल यस सहकारी संस्थामा ७१ हजार पाँच सय ६५ बचत रहेको छ भने असुल गर्नुपर्ने ऋण ३३ लाख ८७ हजार ६ सय रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यो सहकारी २०६५ सालदेखि सञ्चालनमा आएको हो । सहकारीको कार्यक्षेत्र सानीभेरी गाउँपालिका भरि रहेकामा आठ सय ९९ शेयर सदस्य रहेका छन् । 

सहकारीले हाल सानीभेरी ८ को सिम्ली, सानीभेरी २ को गिठाकोट, सानीभरी ६ को देउताखोला र सानीभेरी १० को अर्माडाडामा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ । भने सानीभेरी १ मा गार्मेन्ट र मसला उद्योग समेत निर्माण गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update