Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडक्रसको सहयोगमा दुई सय ५० अस्थायी आवास र शौचालय निर्माण 
रेडक्रस रुकुम पश्चिमकाे सहयाेगमा निर्माण भएकाे अस्थायी आवास ।

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम जिल्ला शाखाको सहयोगमा भूकम्प प्रभावित क्षेत्रका दुई सय ५० घरपरिवारका लागि अस्थायी आवास र शौचालय निर्माण गरिएको छ । 

कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत सानीभेरी गाउँपालिका ४ का एक सय ५० र त्रिवेणी गाउँपालिका ९ र १० का एक सय गरी दुई सय ५० घरधुरीका लागि अस्थायी आवास र शौचालय निर्माण गरिएको हो । रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाका अनुसार बहुउद्देश्यीय नगद सहित भूकम्प प्रभावितका लागि अस्थायी आवास, शौचालय र खानेपानी ट्याङ्कीको व्यवस्थापन गर्न सहयोग गरिएको हो । 

प्रति परिवार ८७ हजारका दरले दुई सय ५० घरपरिवारलाई दुई करोड ९७ लाख ५० हजार रकम सहयोग उपलब्ध गराउने लक्ष्य बमोजिम हालसम्म पहिलो किस्ता बापत प्रति परिवार ५४ हजार पाँच सयका दरले सबै लाभग्राहीहरूको खातामा रकम निकासा गरिसकेको थापाले जानकारी दिनुभयो । 

निर्माण सम्पन्न भएका संरचनाहरूको जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त लगायत जिल्ला तथा पालिका स्थित सरोकारवाला निकायहरूको उपस्थितिमा संयुक्त अनुगमन समेत भएको छ । 

अब लाभग्राहीको खातामा अन्तिम किस्ता बापतको रकम पठाउने तयारी भइरहेको कार्यक्रमका योजना, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन अधिकृत शैलेश श्रेष्ठले जानकारी दिनुभयो । 

यसै गरी बहुउद्देश्यीय नगद सहयोग अन्तर्गत दुई वटै पालिकाका वडा कार्यालयले छनौट गरी पठाएका ज्येष्ठ नागरिक, दीर्घ रोगी, एकल महिला, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका लाभग्राहीहरूमध्येबाट एक हजार दुई सय दुई घरधुरीलाई १५ हजारका दरले थप एक करोड ८० लाख ३० हजार रकम समेत लाभग्राहीहरूको खातामा पठाइसकेको श्रेष्ठले बताउनुभयो ।

WhatsApp Image 2024-02-03 at 15.47.16_6b366a0e1707014751.jpg
रेडक्रस रुकुम पश्चिमकाे सहयाेगमा निर्माण भएकाे अस्थायी आवास ।

सहयोग पाएपछि सानीभेरी गाउँपालिका ४ का धने विष्टले खुसी व्यक्त गर्नुभयो । “भूकम्पमा परी मेरो घर र शौचालय भत्कियो, रेडक्रसबाट प्राप्त भएको सहयोगले अहिले अस्थायी आवास र शौचालय बनाइसकेको छु साथै हात धुनको लागि पानी ट्याङ्की समेत व्यवस्थापन गरिसकेको छु । सहयोगका लागि रेडक्रस प्रति आभारी छु” उहाँले भन्नुभयो ।

त्यसै गरी सानीभेरी गाउँपालिका वडा नं. ११ की सरिता वि.क.ले पनि खुसी व्यक्त गर्दै रेडक्रस मार्फत प्राप्त गरेको बहुउद्देश्यीय नगद शौचालय निर्माणमा खर्च गर्ने बताउनुभयो । 

रेडक्रसले सम्बन्धित पालिका मार्फत लाभग्राही कायम भएका भूकम्प प्रभावितहरूलाई अस्थायी आवास, शौचालय र खानेपानीको ट्याङ्की सहित बहुउद्देश्यीय प्रयोजनका लागि नगद रकम सहयोग गरेको हो । रेडक्रसबाट सहयोग लिएका भूकम्प प्रभावितहरूले सरकारबाट भने सहयोग रकम पाउने छैनन् ।।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update