Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ५ का वडा अध्यक्ष खत्रीको निधन
दिवंगत वडाध्यक्ष खत्री ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अलबहादुर खत्रीको उपचारको क्रममा निधन भएको छ । उहाँको लतितपुर मेडिसिटी अस्पतालमा आज निधन भएको हो । खत्री विगत केही दिनदेखि मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्याे ।

उहाँ जन्डिसबाट ग्रसित हुनुहुन्थ्याे । ५ दिन अघि सघन उपचार केन्द्र आइसियुमा राखेर उपचार भइरहेकोमा आज खत्रीलाई डाक्टरले मृत घोषणा गरेको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो ।

खत्रीले विगत लामो समयदेखि विभिन्न ठाउँका अस्पतालमा  उपचार गराउँदै आउनुभएको थियो । खत्रीको शव घरपरिवारले बुझिसकेको र अन्त्येष्टिको लागि गाउँमै ल्याउने तयारी भइरहेको बताइएको छ ।

गाउँपालिकाको आकस्मिक बैठक बसेर वडा अध्यक्ष खत्रीको निधन प्रति दुःख व्यक्त गर्दै भोली गाउँपालिकामा सार्वजनिक बिदा दिने र गाउँपालिका भित्रका शाखा तथा वडा कार्यालयहरूमा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको गाउँपालिका प्रवक्ता घर्तीले जानकारी दिनुभयो ।

४१ वर्षीय खत्री गत स्थानीय तहको चुनावमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update