Kakhara सबैको खबर सम्पूर्ण खबर
ज्येष्ठ नागरिकका जाँगर !
प्रतीक्षालय निर्माणमा जुटेका ज्येष्ठ नागरिक ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ कुनाखेतका ज्येष्ठ नागरिकको व्यस्तता हिजो,आज बढेको छ । चिसो मौसमको प्रवाह नगरी उनीहरू बिहानदेखि बेलुका अबेरसम्म व्यस्त छन् । सरसफाइ, ढुङ्गा बोक्ने, गाह्रो लाउने, काठ पात बोक्ने लगायतका काममा उनीहरू व्यस्त भएका हुन् । यो सबै उनीहरूले व्यक्तिगत प्रयोजनका लागि गरिरहेका छैनन् । कुनाखेतमा सार्वजनिक प्रतीक्षालय निर्माण गर्न उनीहरू जुटेका छन् । सानोभेरी ज्येष्ठ नागरिक मञ्च गठन गरी उनीहरूले काम थालेका छन् ।

दिउँसोको समयमा बस्ने, जमघट गर्ने, कुराकानी गर्ने र पैदल यात्रुलाई समेत बस्न सजिलोका लागि यो काम गर्न लागेको ज्येष्ठ नागरिकले बताएका छन् । मञ्चका अध्यक्ष सेतु जैसीले सबै जना बस्ने कुराकानी गर्ने ठाउँ अभावका कारण प्रतीक्षालय बनाउन लागेको जानकारी दिनुभयो । प्रतीक्षालय, शौचालय, खानेपानी र त्यसको घेराबार गर्ने गरी काम भइरहेको छ । यो सबै संरचना निर्माणका लागि कतैबाट बजेटको व्यवस्थापन भने भएको छैन । ज्येष्ठ नागरिक आफै श्रमदानमा जुटेका छन् ।

422076346_1075303313734009_8707228435046364483_n1707204726.jpg
ढुंगा हटाउँदै ज्येष्ठ नागरिक ।

आवश्यक सहयोग व्यक्तिगत रूपमा सहयोग स्वरूप सबैलाई आग्रह गर्ने र श्रमदान सबै आफै गर्ने गरी निर्णय भएको अध्यक्ष जैसीले जानकारी दिनुभयो । यो सबै कामका लागि ५ लाख १५ हजार बजेट खर्च हुने अनुमान गरिएको छ । ज्येष्ठ नागरिक स्वतः,स्फूर्त निर्माणमा जुटेपछि सहयोग पनि सङ्कलन हुन थालेको छ । विभिन्न व्यक्तिहरूले सहयोग गर्न थालेका छन् । हालसम्म ८९ हजार ३ सय ३० रुपैयाँ सङ्कलन भएको जनाइएको छ ।

बाँफिकोट गाउँपालिका ६ घर भई हाल अमेरिका रहेका गोर्ख कुसारीले ३० हजार ३ सय ३०, कुनाखेत घर भई हाल अमेरिका घर भएका भीमसेन खत्री, भूपेन्द्र खत्री र धर्मलाल नाथले गरी ३९ हजार सहयोग गर्नुभएको छ । कुनाखेत घर भई मलेसिया रहनुभएका केशव नेपालीले १० तथा बाँफिकोट गाउँपालिका ३ घर भई अमेरिका रहेका सिताराम खत्रीले १० हजार सहयोग गर्नुभएको यस अभियानका एक सदस्य नरेन्द्र घर्ती मगरले जानकारी दिनुभयो । घर्तीले ज्येष्ठ नागरिकको अभियानमा समन्वय र सञ्चारको काम गर्दै आउनुभएको छ ।

421742571_912440683519682_1624816475417758247_n1707204729.jpg
प्रतीक्षालय निर्माणमा जुटेका ज्येष्ठ नागरिक ।

कुनाखेतका ज्येष्ठ नागरिकले प्रेरणादायी काम सुरु गरेको स्थानीय दीपेन्द्र आधारभूत विद्यालयका शिक्षक तेजेन्द्र खत्रीले बताउनुभयो । ´उहाँहरू निर्णय गरेर धमाधम काममा लाग्नुभएको छ,´ खत्रीले भन्नुभयो ´यसमा अरू पनि जोडिँदै जानुलाई हातेमालो अनि सहकार्यको रूपमा हेर्न सकिन्छ ।´

गाउँमा आवश्यक पर्ने संरचना नभएको र बनाउनलाई वडा, पालिका कतैबाट पनि ध्यान नदिइएपछि ज्येष्ठ नागरिक आफैले थालेको अभियानमा थोरै भए पनि सहयोगमा जोडिँदा विकास पनि हुने र ज्येष्ठ नागरिकको अभियान सफल भएर उहाँप्रतिको सम्मान पनि हुने शिक्षक खत्रीको भनाई छ । प्रतीक्षालय, शौचालय निर्माणका लागि मञ्चका अध्यक्ष जैसीले नै नि:शुल्क जग्गा उपलब्ध गराउनु भएको छ ।

423903787_1757826341391353_8557065547117711418_n1707204728.jpg
ज्येष्ठ नागरिकले निर्माण गरिरहेकाे प्रतीक्षालय ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update