Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वको  १५ औँ जिल्ला स्तरीय रनिङ शिल्ड महतमा सुरु
गत संस्करणकाे शिल्ड हस्तान्तरण गर्दै सिस्ने गाउँपालिकाकाे टाेली ।

रुकुम पूर्वको १५ औँ जिल्ला स्तरीय राष्ट्रिय रनिङ शिल्ड सुरु भएको छ । आज भूमे गाउँपालिका वडा नम्बर ६ महतको रङ्गशालामा शिल्ड सुरु भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य सुरूल पुनले शिल्डको उद्घाटन गर्नुभयाे । पालिका स्तरीय शिल्डबाट छनोट भएका खेलाडीहरूको जिल्ला स्तरीय शिल्डमा सहभागिता रहेको छ । 

सिस्ने, भूमे तथा पुथाउत्तरगंगा गाउँपालिका भित्रका विद्यार्थी शिल्डमा सहभागी छन् । माघ २८ गते सम्म सञ्चालन हुने शिल्डमा भलिबल, सट फुट, ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरीका एक सय मिटर देखी ३ हजार मिटर सम्मको दौड, लङ्ग जम्प, त्रिपल जम्प, रिले दौड, हाई जम्प लगायतका स्पर्धामा विद्यार्थीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वका अध्यक्ष नामेन्द्र सुनारले जानकारी दिनुभयो । 

प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सुरूल पुनले शिल्ड खेलाडीले आफ्नो क्षमता देखाउने राम्रो थलो भएको बताउनुभयो । खेलमा जीत र हार स्वाभाविक रहेकोले निर्धक्क आफ्नो क्षमता अनुसारको खेल प्रदर्शन गर्न उहाँले सबै विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । उहाँले खेल क्षेत्रबाट जिल्लालाई चिनाउन सक्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । खेल मैदानको अभाव र खेलकुद सामग्री अभावका कारण खेलाडी उत्पादन गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । 

आउँदा दिनमा जिल्लामा खेलकुद मैदान र आवश्यक खेल सामग्रीको व्यवस्थापनमा आफूहरू लाग्ने उहाँले आश्वासन समेत दिनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनारको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पुनको प्रमुख र जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । 

यस्तै कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुणिराज घर्ती, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विव्यस अध्यक्ष, शिक्षक अभिभावक सङ्घ, शिक्षक लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update